ठूलो परिमाणमा गाँजा सप्तरी हुँदै भारत तर्फ तस्करी हुने गरेको तथ्य
७ सय ११ किलो गाँजा बरामद भएको छ,। राजविराज ।
शनिबार बिहान डेढ बजेको समयमा सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिका-३ हुलाकी राजमार्गमा रहेको बिहुल पुलभन्दा एक सय मिटर पूर्व दुई वटा स्कर्पियो लागिरहेको अवस्थामा नियमित गस्तीमा रहेको प्रहरी सहायक निरीक्षक हेमन्तकुमार तामाङको नेतृत्वको प्रहरी टोलीले सोधिखोजी गर्यो । प्रहरीको गस्ती टोली घेरा हाल्न थालेपछि एउटा स्कर्पियोमा चढेर दुवै स्कर्पियोका चालकसहित अन्य प्रहरीको अगाडिबाट भागे ।
जसलाई पाँच जना हतियारसहित रहेका प्रहरीले रोक्न सकेन । एउटा स्कर्पियो भागेपछि प्रहरीले घटनास्थलमा रहेको अर्को स्कर्पियरोमा लोड गरिएको र छेउमा झारिएको ३० वटा पोका जाँच गर्यो ।
प्रहरीले ७ सय ११ किलो लागूऔषध गाँजा नियन्त्रणमा लियो । प्रहरीले घटनास्थलमै रहेको प्रदेश १–०२–००२ च ५८३४ नम्बरको गाँजा लोड रहेको स्कर्पियो पनि नियन्त्रणमा लियो ।
शनिबार बिहान प्रहरीले गाँजा नियन्त्रणमा लिएको स्थानबाट ३ सय मिटर पश्चिम बलानबिहुल गाउँपालिका-१ कमलदाहास्थित एक जनाको परालको टालबाट गत पुस २७ गते ६ सय ७० किलो गाँजा बेबारिसे अवस्थामा फेला पारेको थियो ।
गत मंसिर ४ गते प्रहरीले राजगढ गाउँपालिका-४ बाट टिपर र चालकसहित १७ सय १७ किलो गाँजा नियन्त्रणमा लियो ।
शनिबारसमेत पछिल्लो केही महिनामा प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा नियन्त्रणमा
लिएको छ ।
ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिए पनि प्रहरीले कारोबारी वा तस्करीमा संलग्न रहेकाहरूलाई भने पक्राउ गर्न सकेकव छैन ।
शनिबार बिहानै पनि गाँजा नियन्त्रणमा लिँदै गर्दा प्रहरी टोलीलाई चुनौती दिँदै संलग्नहरू एउटा स्कर्पियो छोडेर अर्को स्कर्पियोमा चढी भाग्न सफल भयो । प्रहरीको टोलीले तस्करीमा संलग्नहरूलाई न त रोक्न सक्यो न त भागेको ती स्कर्पियोकै पहिचान गर्न सक्यो ।
केही समय अघिसम्म सप्तरीको कोशी ब्यारेज हुँदै कोशी नदीमा डुंगाको सहायतामा तस्करहरू गाँजा भारत तर्फ तस्करी गर्ने गरेका थिए । तर पछिल्लो समय सप्तरीका पश्चिमी नाकाहरू गाँजा तस्करहरूका लागि सहज बाटो बनेको छ । प्रहरीले ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिए पनि ल्याउने र भारत तर्फ तस्करी गर्ने क्रम भने रोकिएको छैन ।
सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार पटक पटक पक्राउ गरिँदै आएको गाँजा पूर्वी पहाडी जिल्लाहरूबाट आउने गरेको छन् ।
प्रहरी स्रोतका अनुसार धनकुटासहित पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा धनकुटाको साँगुरीगढी गाउँपालिकामा भण्डारण गरी राख्ने र त्यहाँबाट स्कर्पियोसहितका ठूला सवारीसाधनमा राखेर सप्तरीसम्म पुर्याएर पश्चिमी नाकाका बस्तीहरूमा भण्डारण गरी भारत तर्फ तस्करी हुने गरेको छ ।पटक पटक ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिने सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा भन्छन्,‘अहिलेसम्मको अनुसन्धानबाट पूर्वी पहाडी जिल्लाहरूबाट गाँजा सप्तरी ल्याएको देखियो,जुन हामीले नियन्त्रणमा लिएका छौं ।’
यसअघि सप्तरी प्रहरीले १७ सय १७ किलो गाँजा नियन्त्रणमा लिँदा पक्राउ गरिएको टिपरका चालक धनकुटाको सागुरीगढी गाउँपालिकाका थिए । पछिल्लो पटक शनिबार बिहान बरामद गाँजा पनि धनकुटाबाटै आएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
धनकुटाको साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन्,‘हाम्रो पालिकातिर गाँजाको खेती नै हुने गरेको मेरो जानकारीमा छैन तर अन्य जिल्लाबाट लगिँदा साँगुरीगढी पालिकाको बाटो चाहिँ प्रयोग हुन सक्छ ।’धनकुटाका एसपी श्यामसिंह चौधरीले धनकुटामा यसअघि नै ठूलो परिमाणमा गाँजाको बोट नष्ट गरिएको र तयारी गाँजा पनि नियन्त्रणमा लिएको दाबी गरे ।
‘हामी पनि धेरै ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिइरहेका छौं, बोट पनि नष्ट गरिरहेका छौ,’ एसपी चौधरीले भने,‘साँगुरीगढी गाउँपालिकाका केही भागमा गाँजा उत्पादन हुने गरेको छ ।
’ उनले भोजपुर क्षेत्रबाट गाँजा आउने गरेको दाबी गरे ।जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अरबिन्द साहले भोजपुर प्रहरीले पनि बेर्नाकै बेला गाँजा नष्ट गरेको दाबी गरे । उनले भने,‘कार्तिकदेखि पुससम्म बेर्ना र लगाएको गाँजाको बोट नै हामीले नष्ट गर्यौं, अब जंगलतिर आफैं उम्रेको ठाउँहरू रहेको सुनिरहेको छु,त्यहाँ पनि नष्ट गर्ने छौं ।’पहाडी जिल्लाका प्रहरी प्रमुखहरूले गाँजा नष्ट गरिरहेको दाबी गरिरहेपनि ती जिल्लाहरूबाटै ठूलो परिमाणमा गाँजा सप्तरी हुँदै भारत तर्फ तस्करी हुने गरेको तथ्य पटक पटक पक्राउ गरिएको गाँजाको अनुसन्धानले
देखाएको छ ।
नव जनप्रार।