ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका २० वटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौंको पेप्सीकोला, काँडाघारी, फर्पिङ, कालिमाटी, लैनचौर, गौशाला, धर्मस्थली, नयाँ बसपार्क र बौद्ध लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
सोमबार बुझाइएका २० वटासहित ३०३ ओटा सवारी साधन साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ३३ वटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ४८ जना व्यक्तिलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आफ्नो सवारी साधन जिम्मा लिएपश्चात सवारी धनीहरूले ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् । आर्थिक वर्ष २०७९/०८० मा ४९९ वटा र ०८०/०८१ मा ४१७ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।
नव जनप्रहार ।