सर्लाही जिल्लाको मलंगवा नाकाबाट केही दिन यता कवाडीको व्यापक तस्करी भैरहेको छ ।
विगतमा बारा , नवलपरासी , कपिलवस्तु , बांके र मोरङका नाकाबाट कवाडीको व्यापक तस्करी हुदै आएको थियो । यहाँबाट भएको कवाडी तस्करीको बारेमा हामीले बारम्बार समाचार प्रकाशित गरेपछि कवाडी तस्करहरूले अहिले सर्लाहीका नाकाबाट कवाडीको तस्करी गर्न थालेका हुन् । बारा , पर्साको मात्रै होइन काठमाडौबाट समेत जम्मा भएको कवाडी सोझै सर्लाही लगेर तस्करहरूले भारत पुर्याउंदै आएका छन् ।
सर्लाहीका कवाडीको कारोबार गर्नेहरूमा मलंगवाका अशोक चौधरी , राकेश चौधरी , उमेश चौधरी लगायतका छन् । हाम्रो स्थानीय संवाददाताले जानकारी दिए अनुसार राकेश र उमेश साझेदार हुन भने अशोक एक्लै काम गर्छन् । विभिन्न जिल्लाबाट संकलन भएर आएको कवाडी यी कारोबारीहरूले बाबा स्वामी मठ नजिकैको गोदाममा जम्मा गर्दै आइरहेका छन् । यहाँ जम्मा भएको कवाडी दुबै प्रहरीलाई सेटिङ मिलाए पछि उनीहरूले गोरखकाली र त्रिभुवननगर बीचको नाकाबाट तस्करी गरिरहेका छन् । ठेलामा होइन कि पिकअप र ट्रकमा नै कवाडी तस्करी हुदै आएको छ ।
तस्करीको काम नेपाल–भारतको वाणिज्य सन्धी अन्तर्गत गैरकानुनी रहेको जानकारहरु बताउँछन्। नेपाल–भारतको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय स्तरीय दुई देशको सम्झौता अनुसार आफ्नो देशबाट उत्सर्जित फोहोरमैला तथा कवाडी समानहरु आफनै देशमा ’रिसाइकल’ वा तह लगाउनुपर्ने बाध्यात्मक शर्तसहितको सम्झौता भए तापनि स्थानीय प्रहरी प्रशासनलाई प्रभावमा पारी यो अवैध धन्दा चलिरहेको बताइन्छ। कवाडको नाममा तस्करी गर्ने गिरोहले रातारात करोडौं कमाउने गरेको जानकारहरुको भनाई छ। कवाडी समान भारतको रक्सौल हुँदै दिल्ली पुग्छ। त्यहाँ ’रिसाइकल’ गरी कच्चा पदार्थ बनाइन्छ।जस्तै पानीको बोतल दिल्ली पुगेपछि प्लाष्टिकको समान उत्पादन गर्न चाहिने कच्चा पदार्थ दाना बनाइन्छ। कौडीको भाउमा किनेका ती सामाग्री तस्करी गर्न नेपालभारतका करिब एक दर्जन तस्करहरु सक्रिय रहेका छन्। एक थान तीनपांग्रे ठेलामा ८ सय किलोदेखि १३ सय किलोसम्म कवाडी सामान जान्छ।यदि एक रातमा ८ सय किलो तौल लोड गरेको १० वटा ठेला रक्सौल पुगे किलोको १० रुपैयाँ तस्कर गिरोहले चार्ज गर्दा करिब ८० हजार कमाई हुन्छ। तर कवाडको पूर्ण तस्करी हुन थालेपछि दैनिक गोरखकाली र त्रिभुवननगर बीचको नाका भएरमात्रै दैनिक १५० देखि २ सयसम्म ठेला तस्करी गरिन्छ। दुई सय ठेलाको तस्करी गराए वापत प्रतिकिलो १० रुपैयाँको भाउले दैनिक १६ लाख तस्करको गोजीमा जाने भएकोले यो समानको तस्करीमा तस्कर गिरोहले विचौलियामार्फत प्रहरी प्रशासनलाई सेटिङ गर्न लाखौं रुपिया विभिन्न निकायलाई नजराना चढाउने गर्दछ।
कवाडको तस्करी भनेपछि प्रयोग भई कवाडी भइसकेको पैड बन्डल(मिनिरल वाटरको बोतलको बन्डल), रंगीन क्रिस्टल, स्टिल ३१६, स्टिल ३०४, स्टिल पिसी, स्टिल बर्तन, प्रिफम, प्रिफम ढेला, रेडबुलको केनको बन्डल, जनावरको हड्डी, जनावरको छाला, बैट्री, बैट्रीको धुलो, किट, एक्सरे, नयाँ सिमेन्टको बोरा, कापी, किताब, टायर, केबल, सिडी चक्का, नेचुरल पिपि(कटिङ गरिएको) ह्वाइट पिपि, हेडलाइट, रिलायन्स पाइप, ह्वाइट सिलिकन, ग्लुकोज स्लाइन बोटल, सि पाइप, किसान पाइप, ब्लास्टी रोल, कालो बारुद डस्ट, जार कटिङ, बाल्टिन कटिङ, कन्डुल, बिट, फ्लेक्स सेतो, फ्लेक्स कालो, कसकुट पिस्टन, एलडी प्लेट, जिंक, जिंक एस, औषधीको खोल(रेपर), नाइलन, कार बम्फड, सिरिन्ज, मेडिकल पन्जा, ह्वाइट एभिएसलगायत समानको कबाडको समान भनी तस्करी गर्ने गरेको हो ।
नव जनप्रहार सभार ।