Tuesday, March 18, 2025

काण्डैकाण्डमा मुछिएका नाइके बारा एसपीका घुमुवा:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख(एसपी)मा गएको माघ ११ गते सरुवा भएका सन्तोष तामाङले सीमा नाकाहरुबाट भन्सारछली तस्करीको सेटिङका लागि विवादास्पद असई मनोज यादवलाई परिचालन गरेका छन् । दुई पटक निलम्बनमा परेका र हाल पनि सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका असई यादवलाई एसपी तामाङले घुमुवा कमाण्डरको रुपमा सादा पोशाकमा बाराका अमलेखगंजदेखि सिम्रौनगढसम्म मात्र होइन, पर्सासम्मको तस्करीको नेटवर्कसँग समन्वय गर्ने र असुली गर्ने जिम्मा दिएका छन् ।
भारतबाट पर्साबाट बारा हुँदै पनि ठूलोमात्रामा सामान भित्रने भएकाले यादव बीरगंजमा समेत पुग्ने गरेको आरोप छ । यसअघिका एसपी महेन्द्र खड्काले राखेका घुमुवा कमाण्डर विनोद काफ्लेलाई विश्वास नगरी तामाङले मनोज यादवलाई अगाडि बढाएका छन् । एसपीका घुमुवा यादवले केही दिनअघि सिम्रौनगढ नाकामा एक ब्यापारीसँग २५ हजार घुस मागेपछि ठूलो विवाद भई हात हालाहाल नै भएको भिडियोसमेत नेपालफेसलाई प्राप्त भएको छ ।
उक्त भिडियो आईजीपी सचिवालय र हेल्लो सरकारमा पुगेपछि प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा(उजुरी छानबिन)मा समेत पुग्यो । उजुरी छानबिनबाट जिल्ला प्रहरी कार्यालय बारामा असई यादवलाई तुरुन्त प्रहरी प्रधान कार्यालयमा हाजिर हुन पत्र पठायो । तर बाराका एसपी तामाङले आईजीपी बसन्तबहादुर कुँवरलाई फोन गरेर उनलाई प्रधान कार्यालयमा हाजिर गराउनबाट रोकेका छन् । अवकाश हुन लागेका आईजीपी कुँवरले उजुरी छानबिनका प्रमुख एसएसपी कृष्ण कोइरालालाई २–४ दिन नबोलाउनू भनेपछि यादवको उजुरीमा छानबिन नै नहुने भएको छ ।
असई यादव: विवादका पर्याय
प्रहरी संगठनमा अत्यन्तै बदनाम भएका र पटक पटक कारबाहीमा परेर पनि तस्करी हुने मूख्य नाका र चौकीको जिम्मेवारी लिन सफल प्रहरी सहायक निरीक्षक (असई) हुन् मनोज यादव । उनले २०८० कात्तिकमा सर्लाहीमा दुई ब्यापारीलाई अपहरण शैलीमा बन्धक बनाइ ५० हजार रुपैयाँ घुस लिएर गाडी र तस्करलाई छोडेको घटना सर्लाही प्रहरीमा सबैलाई थाहा छ ।
यादवले ब्यापारीलाई नियन्त्रणमा लिएर ‘पैैसा देउ नत्र मोटरसाइकलसहित भित्र थुनिदिन्छु साथै लागूऔषधमा फसाइ दिन्छु’ भनी ब्यापारीलाई डराइधम्काई उनीहरुसँग रहेको १० हजार नगद लिई बाँकी ४० हजार रुपैयाँ स्थानीय एक जनाको खातामा जम्मा गर्न लगाएपछि ब्यापारी र मोटरसाइकललाई छोडिदिएका थिए ।
यादव प्रहरी चौकी संग्रामपुरको इन्चार्जको रुपमा असई यादवले खुलेआम तस्करीको लाइन चलाएको समाचार त्यतिबेला पनि प्रकाशित भएका थिए । असई मनोज यादव जागिरमा प्रवेश गरेदेखि नै प्रहरी आचरण विपरीतका विवादित काम गर्दै आएका बदनाम व्यक्ति हुन् । महानगरीय प्रहरी बृत्त बालाजुमा हवल्दार पदमा रहँदा भारतीय गोर्खा सैनिकमा भर्ति हुन चाहनेहरुलाई कागजपत्र बनाउने काम गर्ने गंगा देवानलाई बन्धक बनाई २०७४ असोज ८ गते पाँच लाख रुपैयाँ असुलेका थिए । २०७४ असोज १० गते ५ लाख घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेपछि निलम्बनमा परेका थिए ।
त्यस्तै २०७४ साल चैतमा बाराको मधुवन प्रहरी चौकीको इन्चार्जको रुपमा कार्यरत रहँदा होस् या २०७९ सालमा पथलैया प्रहरी चौकीको इन्चार्जको रुपमा कार्यरत रहँदा यादवले प्रहरी संगठनका उच्चपदस्थ अधिकारीहरुको नाम समेतमा सीमा क्षेत्रमा ब्यापारीहरुसँग अवैध असुली गर्र्ने बदनामी कमाउँदै आएका थिए । त्यतिमात्र हैन पूर्व डीआइजी उमेश रंजितकारको घुमुवाको बनेर पनि उनले असुली धन्धा चलाएका थिए । तत्कालीन प्रदेश न. २ का डीआइजी उमेश रंजितकारले उनलाई घुमुवा राखेर तस्करीको नेटवर्क चलाएका कारण विवादमा परेका थिए । रंजितकारलाई नै तानिने चर्चा चले पनि घुमुवा यादवलाई भने प्रहरी प्रधान कार्यालयले तानेको थियो ।
असई यादव सर्लाहीको सबैभन्दा बढी तस्करी हुने त्रिभुवननगर सीमाचौकीको इन्चार्ज पनि भएका थिए । अख्तियारसम्म पहुँच छ भन्दै असई यादवले सई इन्चार्ज हुने आकर्षक चौकीको इन्चार्ज हुने र तस्करसँग कनेक्सन गरी लाभ लिने गरेको आरोप छ । भन्सारछलीदेखि सीमापार अपराधिक गतिबिधि गर्नेहरुसँग साँठगाँठ भएका असई यादवलाई बाराका एसपी तामाङले घुमुवाका रुपमा खटाएर असुलीमा लगाएपछि सरुवा भएको २ महिना नपुग्दै विवादमा परेका छन् ।
अख्तियारको नाम लिएर असई यादव विगतमा मधेश प्रदेशका यसअघिका डीआईजी यज्ञविनोद पोरखेललाई भनेर ५० हजार घुस प्रकरणमा निलम्बन फुकुवा भएका थिए । निलम्बन फुकुवा लगत्तै बाराको सिम्रौनगढ नाकामा जान सफल भएका यादव तामाङ हाजिर भएपछि एसपीलाई टेण्डर कबोलेर घुमुवा कमाण्डर भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles