बाराका कलैया । बारामा तस्करी धन्दा खुलेयाम चलिरहेको छ । पथलवाघाट र खजानी क्षेत्रबाट अहिले व्यापक तस्करी धन्दा चलेको बताइएको छ । तस्करीमा संलग्न तस्करहरूले कहाँ र कुन नाका आफ्नो लागि सहज र सुविधाजन्य हुन्छ त्यहीबाट तस्करीको धन्दा चलाउंछन् , भन्ने कुरामा कुनै दुईमत छैन । त्यसैले बिगत केही महिना देखि यो नाकाबाट व्यापक मात्रामा तस्करी भैरहेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको घुमुवा र स्थानीय चौकीसंग सेटिङ मिलाएर उनीहरूको संरक्षणमा यसरी तस्करी चलिरहेको हाम्रो स्थानीय संवाददाताले जानकारी दिएका छन् । नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले बाराका विभिन्न नाकाहरूबाट प्रहरीकै संरक्षणमा तस्करी भैरहेको सुचना पाएपछि बारम्बार तस्करी रोक्न निर्देशन दिएको भए पनि अझै तस्करी नियन्त्रण होइन झन् व्यापक रूपमा चलिरहेको स्थानीयले बताउँछन् ।
माथिल्लो निकायले बाराका सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्ने निर्देशन बारम्बार दिएको भए पनि मातहतका प्रहरीले कार्यान्वयन गरेको देखिदैन । केन्द्र र प्रदेश प्रहरी प्रमुखले बारम्बार दिएको नीति निर्देशन विपरीत अहिले बाराको पथलवाघाट र खजानीबाट व्यापक तस्करी भैरहेको देखिएको छ ।
प्रहरीहरुकै सेटिङ र संरक्षणमा पथलवाघाट र खजानीबाट तस्करीको भएको स्थानीयले बताएको हो ।
पथलवाघाटबाट निस्के पछि झन्डै ४ सय मिटरको फरकमा खजानी चौकी रहेको बताइएको छ । पथलवाघाट चौकीमा यादव नाम गरेका असई रहेको छन् । यी दुबै प्रहरी चौकी असई दर्जाको लागि बारा जिल्लाको सबैभन्दा राम्रो र अतिरिक्त आम्दानी हुने चौकीमा पर्ने कुरा जिल्ला प्रहरी कार्यालयका एक प्रहरी निरीक्षकले बताएका छन् । उनका अनुसार यी दुबै चौकीमा जानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई टेण्डर अर्थात जसले बढी मासिक बुझाउने गरि कबोल गर्छ उसैले जाने अवसर पांउ छन् ।
नेपाल तर्फबाट ठूलो मात्रामा गांजाको तस्करी भारततर्फ हुदै आएको स्थानीयले बताउँछन् ।
बारा जिल्लामा सबैभन्दा बढी गांजाको तस्करी हुने नाका नै पथलवाघाट भएको यहाँका स्थानीयले बताउँछन् । धादिङ र मकवानपुर जिल्लाको पहाडी भेगमा उत्पादित गांजा तथा चरेस समेत यसै नाकाबाट भारततर्फ तस्करी हुने गरेको स्थानीयले बताउँछन् । कतिपय अवस्थामा प्रहरी पक्राउ गरेको भए पनि लेनदेनको सेटिङ नमिलेपछि मात्रै प्रहरीले पक्राउ गर्ने गरेको आरोप लाग्दै आएको छ ।
अन्यथा प्रहरीको सेटिङ र संरक्षणमा गांजा र चरेशको तस्करी बढी मात्रामा यसै नाकाबाट हुने गरेको स्थानीयहरुले बताउँछन् ।
गांजा र चरेसको कारोवार गर्नेमा प्रदिप र राजेश नाम गरेका भारतीय नागरिक रहेको स्थानीय बासिन्दाहरू बताउँछन् । यो तस्करीको सन्जाल जिल्ला प्रहरीले थाहा नपाएर पनि हो कि नियन्त्रण गर्न नसकेको आरोप लाग्दै आएको छ ।