एक करोड ४० लाख ठगी गरेको प्रमाणसहित उजुरी परेपछि प्रहरीले काठमाडौंस्थित नापी कार्यालय डिल्लीबजार अन्तर्गतको टोखा टोली नापी प्रमुख सञ्जय साह र रौतहटको दुर्गाभगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साहसहित चारजनाविरुद्ध पक्राउपुर्जी जारी गरेको छ ।
रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयले जिल्ला अदालत रौतहटबाट साहद्वयसहित काठमाडौं नागार्जुन–४ का विमलादेवी श्रेष्ठ र छोरा धिरज श्रेष्ठविरुद्ध पक्राउ पुर्जी लिइएको ईलाका प्रहरी गरुडाले
जनाएको छ । यद्यपी विमला श्रेष्ठको भने मृत्यु भइसकेको बताइएको छ ।
गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले जग्गासम्बन्धी कारोबारमा रकम ठगी गरेको भन्दै प्रमाणसहित उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएपछि अदालतले पक्राउपुर्जी जारी गरेको हो ।दुर्गाभगवतीका पूर्वअध्यक्ष अरुण साहमाथि भने पीडितलाई नै ठगी गरेको आरोप छ ।
नापी अधिकृत साहबाट साँवा र ब्याज गरी १ करोड ४० लाख फिर्ता गराइदिने भन्दै पूर्वअध्यक्ष अरुण साहले उल्टै आफूसँग१० लाख लिएको भन्दै सन्तोषले गरुडा प्रहरीमा जाहेरी दर्ता गराएपछि पूर्वअध्यक्ष साहमाथि पनि पक्राउ पुर्जी जारी भएको हो ।
सञ्जय साह तिनै ब्यक्ति हुन्, जसमाथि २०७८ मारौतहटकै चन्द्रपुरस्थित नापी कार्यालयमा प्रमुख हुँदा अकुत सम्पति कमाएको आरोप लाग्दै आएको छ । नापी प्रमुख साह र पीडित चौधरीबीच त्यसैबेला चिनजान भएको थियो ।
त्यसपछि काठमाडौंको नागार्जुन–४ की विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन चौधरी र साहले संयुक्त लगानीमा खरिद गर्ने सहमति गरेका थिए ।
सुरुमा सन्तोषले १ करोड १० लाख बैना गरेका थिए । रजिष्ट्रेसन पास गराउन पैसा अपुग भएपछि प्रमुख साहले लगानी गरी आफ्नो नाममा जग्गा ल्याएका थिए ।
सन्तोषका अनुसार २ करोड मूल्यमा उक्त जमिन किनबेच भएको थियो । उक्त जमिन साहले आफूलाई थाहै नदिई २०८० र २०८१ मा चार कित्ता बनाई चार जनालाई बिक्री गरेपछि बाध्य भएर प्रहरीकोमा पुगेका चौधरीले बताए ।बैना गरेको र उक्त जग्गमा माटो भरेको तथा अन्य काम गरी आफ्नो १ करोड २५ लाख खर्च भएको बताएका चौधरीले साहलाई पैसा फिर्ता माग्दा कुनै सुनवाइ नगरेपछि ठगीमा जाहेरी दिएको बताएका छन् ।प्रहरीले जग्गाधनी बिमला श्रेष्ठको मृत्यु भइसकेको जानकारी पाएपछि छोरा धिरजलाई पक्राउ गरी साताअघि नै हाजिर जमानीमा छाडेको छ ।
गरुडा प्रहरीका अनुसार जमिन खरिद गर्न सन्तोषले जग्गाधनी विमला र उनका छोरा धीरजलाई पटकपटक गरी १ करोड १० लाख रुपैयाँ बुझाएको देखिन्छ ।
यता, टोखा नापी प्रमुख साहलाई पक्रन गरुडा प्रहरीले काठमाडौ प्रहरी परिसरलाई पत्र पठाए साह भने कार्यालयमा असार १५ गतेसम्म बिदा जनाएर बेपत्ता भएका छन् ।