निम्तो पाएर नआउने आईजिपी साबहरूलाई पूर्व प्रहरी संगठनले कसरी हेर्नु पर्छ ?
नेपालमा जीवितै रहनु भएका पूर्व प्रहरी आईजिपी साबहरू मध्ये, एक–दुई बाहेक अवकाशपछि विरलै चर्चामा हुनुहुन्छ ।
लगभग वहाँहरू समाजमा हराइसकेको अवस्था देखिन्छ। जहाँसम्म तल्ला, गरीब र पूर्व प्रहरी वर्गका लागि आवाज उठाउने, वहाँहरूको हकहितमा सक्दो चन्दा दिने, देशमा दैवी प्रकोप अवस्थामा अगाडि आउने, देशका सुरक्षाका विषयमा विज्ञको रूपमा धारणा राख्ने, सुशासनका अवस्थाबारे राय दिने, व्यवसायिक पुस्तकहरू प्रकाशन गर्ने कुरा छन्, त्यो पनि देखिंदैन।
त्यत्रो फौजको सर्वोच्च पदमा पुगेको, त्यस पदमा पुग्नका लागि मरीहत्या नै गरेको, त्यस पद प्राप्तिका लागि हुने–नहुने सबै काम गरेको (त्यसको साक्षी आआफैं हुँदा राम्रो), त्यस पदमा पुगेर केही क्षण नेपाल नै आफ्नो टाउकोमा उठाएको झैं गरेको, फौजका अफिसरहरूको करिअरहरूमा आफूलाई भगवानै सम्झी वरदान र श्राप दिने गरेको, र पूर्व प्रहरीले रगत–पसिनाबाट जोडेको कल्याणकोषको संरक्षक समेत भएको (यद्यपि धेरैले संरक्षकको पदको आडमा कोषको नराम्रोसँग संहार गरेको आरोप पनि जीवितै छ), र एक तह मुनिसम्मका तल्ला प्रहरीहरूले अभिभावक सम्झी छोरा–छोरी समेत लिएर दशैंमा टिका लगाउन पुग्ने आईजिपी साबहरू अवकाशपछि कता गायब? खोजीकै विषय छ।
यस पटक पहिलोपल्ट “पूर्व प्रहरी दिवस” भव्यसँग देशव्यापी रूपमा मनाउने क्रममा कार्यवाहक अध्यक्ष विनोद सिंह साबको एक मिटिङमा म पनि बोलाइएको थिएँ र त्यहाँ सबै केन्द्रीय पदाधिकारी ज्युहरूले “विशेषतः कल्याणकोषमा प्रशस्त आर्थिक धाँधली र चुहावट भएको छ, त्यसैले २०५० साल देखिकै कोषको आय–व्यय खोजिनु पर्छ” भनी पूर्व प्रहरी संगठनले आवाज उठाई छानबिन समेतको माग गरेपछि पूर्व आईजिपी साबहरूसँग केही दूरी बने पनि, यस पटक पूर्व प्रहरी दिवसमा सबै साबहरूलाई बोलाई संगठनको मेन स्ट्रीमसँग जोडिदै देशव्यापी रूपमा वहाँहरूको पदको गरिमा कायम राख्नु पर्ने र पुराना गुनासो–दुःखदूर गर्दै वहाँहरूलाई संगठनको देशव्यापी प्लेटफर्ममार्फत वर्गीय र सामाजिक कार्यमा संलग्न गराउँदै लैजाने उद्देश्यसहित सबैलाई निमन्त्रणा पठाई उपस्थितिका लागि आमन्त्रण गर्नु पर्ने तर्क गरेका थिए।
म स्वयं यसपटक मधेश प्रदेशमा भाग लिन गएको हुँदा केन्द्रको धापासीमा को–को पूर्व आईजिपी साबहरू उपस्थित हुनु भएछ? भनी फोटोमा हेर्दा मैले “ज्ञवाली” साब बाहेक अरू देखिन। यसपछि मैले एक पदाधिकारीलाई सोधें, “तपाईंहरूलाई पूर्व आईजिपी साबहरूलाई आमन्त्रण गर्नु भएको थियो?” वहाँहरूले घर–घरमा गई बुझाएको भनी सकेपछि मनमा आयो – वहाँहरू यस समारोहमा आउनुपथ्र्यो।
नआएको भए, त्यसका कारणहरूमा –
क) “म निक्कै ठूलो मान्छे हुँ“ भन्ने अझै भ्रम परेको हुन सक्छ, जुन भ्रम अब अवकाशपछि पालिरहन जरुरी छैन, त्यो मिथ्या मात्र हो।
ख) “संगठनले किन हामीले कल्याणकोषमा अपचलन गर्यौं?“ भनेर आवाज उठायो त? भन्ने रिस र गुनासो हुन सक्छ। त्यो आरोप जीवनभर मात्र होइन, जीवनपर्यन्त पनि रहनेछ, जबसम्म निष्पक्ष छानबिन हुँदैन, किनभने धाँधली अर्बौंमा भएकै छ भन्ने नै देशभरिका पूर्व प्रहरीहरूको ठहर छ। छैन भने छानबिन गरौं न त?
ग) संगठनमा कसैको मुख मन नपरेको पनि हुन सक्छ । तर मुख त संगठनका लागि पनि वहाँहरूको मन नपरेको हुन सक्छ । र मन नपरी–नपरी पनि निम्तो गएको हुन सक्छ।
घ) वा पूर्व प्रहरीहरूको भिड फेस गर्न नसकेको पनि हुन सक्छ ।
तर जब एक संगठनबाटै निम्तो आउँछ, तब जान नसके पनि यति कारणले म आउन सकिनँ भनी जानकारी गराई, कार्यक्रमको सफलताको कामना गरी दिनु चाहिँ सभ्यता पनि हो।
कारण जे होस्, निम्तोपछि रेस्पोन्स नगर्ने र अनुपस्थित हुने साबहरूलाई संगठनले कसरी हेर्नु पर्ने हो र भविष्यमा कति महत्व दिनु पर्ने हो, यसबारे संगठनले सोच्ला । तर पूर्व आईजिपी साबहरूले पनि यो महान अवसरमा आफूलाई अलग राखी, मुलुकका हजारौं पूर्व प्रहरीहरूसँग जोडिने मौका चाहिँ गुमाएकै मानेको छु। पूर्व आईजिपी ज्ञवाली साबमा आभार।
पूर्व प्रहरी संगठन


