Sunday, September 14, 2025

५९४ बोरा चिनी गायब प्रकरण: एसपी पनि हेडक्वार्टर तानिए:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको सशस्त्र प्रहरीका २० जनामाथि छानबिन सुरु भएको छ । तस्करीमार्फत भित्रिएको ५९४ बोरा चिनी गायब बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एसपी पनि हेडक्वार्टर तानिएका छन् ।११ नं. गण रौतहटका गणपति तथा एसपी सन्तोष बस्नेत हेडक्वार्टर तानिएका हुन् । उनलाई बुधबार सशस्त्रको हेडक्वार्टर हल्चोकमा झिकाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताएका छन् ।

उनीसँगै सशस्त्रका एकजना डीएसपी पनि हेडक्वार्टर तानिएका छन् । सुरक्षा बेस सन्तपुरका डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई पनि हेडक्वार्टर तानिएको छ । यसअघि डीएसपी बस्नेतलाई मधेश प्रदेशस्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीमा तानेर छानबिन गरिएको थियो । एसपी बस्नेतलाई भने सचेत गराइएको थियो ।
तर छानबिनका क्रममा उनीहरूको गल्ती भेटिएपछि हेडक्वार्टर नै झिकाएर थप छानबिनको प्रक्रिया अघि बढाइएको छ ।
यसअघि यो प्रकरणमा तस्करीको चिनी लुकाएर भण्डारण गरेको सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख तथा डीएसपी अमर लामा नेतृत्वको टोली घटनास्थलमा गएर छापा मारेको थियो । सो क्रममा ५९४ बोरा चिनी गायब भएपछि डीएसपी लामालाई हेडक्वार्टर झिकाएर छानबिन गरिएको थियो । लामापछि अहिले थप एकजना डीएसपी र एकजना एसपी समेतलाई हेडक्वार्टर तानिएको हो । तीनैजनामाथि सशस्त्र प्रहरीको कानुन महाशाखाले छानबिन सुरु गरिरहेको छ ।
‘हेडक्वार्टर तानिएकाहरूमाथि छानबिन भइरहेको छ । दोषी देखिएको अवस्थामा उनीहरूको भूमिकाअनुसार विभागले कारबाही गर्छ,’ सहप्रवक्ता थापाले भनेका छन् ।

सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा गत साउन अन्तिम साता तस्करीको ७०० बोरा चिनी लुकाएर राखेको भन्ने भिडिओ सहितको सूचना हेडक्वार्टरमा आएको थियो । त्यसपछि सशस्त्र हेडक्वार्टरले कारबाहीका लागि मातहत निकायलाई निर्देशन दियो । रौतहटको गरुडा नगरपालिका शिवनगरमा रहेको उपेन्द्र सहनीको घरमा भन्सार छलेर ल्याइएको ७०० बोरा चिनी भण्डारण गरिएको थियो ।२९ साउन राति डीएसपी अमर लामाको टोलीले सहनीको घरमा छापा मारेको थियो ।
बरामद चिनी भन्सार कार्यालयमा बुझाइयो । तर जब भन्सारमा बुझाइएको चिनीको परिमाणबारे हेडक्वार्टरले थाहा पायो, त्यसपछि भने यो प्रकरणमा गोलमाल भएको विषय खुल्यो । ७०० बोराभन्दा बढी चिनी भण्डारण गरेर राखिएको भिडिओ सहितको सूचना आए पनि गौर भन्सार कार्यालयमा बुझाउँदा जम्मा १०६ बोरा मात्रै देखाइयो । त्यसपछि भने सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए । प्रारम्भिक जाँचका क्रममा अवैध रूपमा चिनी भित्र्याउने व्यक्तिले केही रकम दिएर करिब ६०० बोरा चिनी बरामद नगराएको हुनसक्ने आशंका गरिएको छ ।
घटनामा प्रत्यक्ष जोडिएको भन्दै त्यहाँका डीएसपी लामालाई हेडक्वार्टर यसअघि नै झिकाइएको थियो ।
जिम्मेवारी खोसेर सशस्त्र प्रहरीले उनीमाथि आन्तरिक छानबिन अघि बढाएको छ । हेडक्वार्टर तानिएका लामा करिब ४ महिनाअघि मात्रै रौतहट पुगेका थिए । उनी यसअघि पनि रौतहटको बोर्डर आउट पोस्ट (बीओपी)मा बसेका थिए । अहिले यो प्रकरणमा करिब २० जनामाथि छानबिन भइरहेको छ । उनीसँगै छापा मार्न गएका टोलीका सबै सदस्य छानबिनमा रहेका छन् । छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासले यो प्रकरणको अनुसन्धान गरिरहेको छ । माथि उल्लेखित बाहेक छानबिनमा तानिनेहरूमा नं. ११ गण हेडक्वार्टर रौतहटका एक इन्स्पेक्टर, सुरक्षा बेस देवाही रौतहटका एक इन्स्पेक्टर र सुरक्षा बेस दुधियाभारका एक इन्स्पेक्टर पनि छन् । उनीहरूलाई बाहिनीले छानबिन गरिहरेको छ । त्यसैगरी दुईजना जुनियर सशस्त्र प्रहरी अधिकृत छन् । ११ जना भने जवान,र हवल्दार छानबिनमा छन् । यही प्रकरणमा इन्स्पेक्टर रामचन्द्र लागेजुलाई त बाहिनीबाट नसियतसमेत दिइसकेको छ । अहिले हेडक्वार्टर तानिएका एसपी राजेन्द्रबहादुर बस्नेतसहित इन्स्पेक्टर गणेशकुमार बोहरा, इन्स्पेक्टर दधिराम पौडेललाई यसअघि बाहिनीले सचेत गराएको थियो ।
अनलाइनखबरबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles