सर्लाही प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको सर्लाहीका प्रहरीले बताएका छन् ।
पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका करिब २५ वर्षीय किशन महरालाई विशेष सूचनाका आधारमा पक्राउ गरी सोधपुछका क्रममा उनको बयानका आधारमा अर्का १८ वर्षीय श्याम महरालाई पनि नियन्त्रणमा लिएको छ ।
सर्लाही प्रहरीका अनुसार बागमती नदीको किनारबाट एउटा कटुवा पेस्तोल बरामद गरिएको, र भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षा तर्फबाट सर्लाहीको मलंगवा तर्फ बीआर ०६ डीएम ९५२३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका किशन महरालाई प्रहरीले पक्राउ गरेको थियो ।
सोधपुछमा किशनले आफूले बोक्ने गरेको हतियार बागमती नगरपालिका–४ जिरायत टोल बस्ने विनोद महराका छोरा १८ वर्षीय श्याम महरालाई राख्न दिएको बताएका छन् ।
श्यामको बयान अनुसार हतियार बागमती नगरपालिका–१२ स्थित बागमती नदीको बगरमा राखिएको र तोकिएको स्थानबाट कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई सर्लाही जिल्ला अदालतबाट हिजो बिहीबार १० दिनको म्याद थप गर्दै हातहतियार तथा खरखजना मुद्दामा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरीले जानकारी दिएका छन् ।