
यो चाहिँ मेरो भैसेपाटीको घर ज’लेको भिडियो हो। मैले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै छात्रवृत्ति र देश-विदेशमा काम गरेर साँढे पाँच आना जग्गामा बनाएको घर हो। श्रीमती र मेरी ९ वर्षकी छोरीलाई यो घर धेरै मन परेकोले गभर्नर भएपछि पनि यही बस्थ्यौँ। गाडी पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरूको पहिलो खेपको कमेन्ट आएको थियो।
भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबै किताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जाँदा किनेर ल्याएका कलाकृति थिए। देवी-देवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि लिएर माओत्सेतुङसम्मका मूर्ति थिए। जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यही थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यही थियो।
अस्ति यो घर ज’ल्नु दुई घन्टा अघिनै यो घर ज’लेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केही भएको थिएन। पछि भने घरभित्र मानिस गए। बा-आमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आ’गो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको एउटा मन्त्रेको खेलौना थियो, ऊ राति नतर्सियोस् भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आ’गो लगाइदिए।
राति मेरी छोरी र श्रीमती नजिकको एउटा घर गएर सुतिन्। म परको अर्को ठाउँमा। मेरा साथीहरूलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधैँ चाँडै घर आउँछु र कतै डिनर खाने गर्दिन। त्यो दिन हामी सबै “शरणार्थी” भयौँ। किताब र कपडाहरू धेरै भएकोले ढिलोसम्म नै घर ज’लिरह्यो। राति पनि केही व्यक्तिले आएर बेलाबेलामा ढुंगा हानेर र सामान चोरेर गैराखेका थिए भनेर छिमेकीहरूले सुनाए।
धेरै साथीहरूले मलाई फोन गरेर सोध्दा मैले “ठिकै छ” भन्ने जवाफ दिएको छु। हिजो राति म भन्दा पनि पीडामा परेका व्यक्तिहरूको बारेमा पढेँ। त्यसैले सबैलाई सूचना होस् भनेर ज’लेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र।
नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुई पैसा कसैको खाएको वा मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ ।नव जनप्रहारबाट ।