
देशभरका विभिन्न कारागार र प्रहरी हिरासतलाई तोडफोड गरेपछि फरार भएका कैदीबन्दी र अभियुक्तहरुलाई नेपाल प्रहरीले तत्कालै सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले हिजो मंगलबार विज्ञप्ति जारी गर्दै कैदी बन्दीहरु फरार भएका सबैलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायसँग सम्पर्कमा आउन अनुरोध गरेको छ ।
जेनजी आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालय, इकाई र कारागारमा भएको आगजनी र तोडफोडपछि हजारौँ कैदीबन्दी र अभियुक्तहरु भागेका छन् । प्रहरीका अनुसार हालसम्म १२ हजारभन्दा बढी कैदीबन्दी कारागारबाट बाहिरिएका छन् ।
नख्खु कारागारबाट रास्वपाका सभापति रवि लामिछानेले समेत बाहिरिएका थिए । उनलाई पनि प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ ।
त्यस्तै, नेकपा एमालेका निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्वगृहसचिव टेक नारायण पाण्डे सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेको जनाइएको छ ।