(बसन्त कुँवर)
प्रहरीमा धेरै आइजीपीहरूले पदमा रहेको समयमा भय–मन भङ्ग भएर, चुरचुर घमण्डमा, आफ्ना मातहतका निरिह कर्मचारीहरूलाई अन्यायपूर्वक बिगारे। तिनको जागिर खाए र बृत्ति विकास तथा आत्मसम्मानमाथि घोर चोट पुर्याए।
यो काम गोठमा दाम्लोमा बाँधिएको पशुलाई कुटीकुटी मारेजस्तै नै हो, किनकि त्यतिबेला त्यो निरिह पशुले चाहेर पनि आफ्नो ज्यान जोगाउन भाग्न समेत सक्ने अवस्था रहँदैन।
यो तिनले गरेका अक्षम्य पाप र गल्ती नै थियो जसको सजाय तिनले पाउनै पर्छ र पाउने छन्।
ती कुलङ्गार, पदअनुसारको बुद्धि–बिवेक नभएका मूर्ख, स्वार्थी र षडयन्त्रकारी पात्रहरूले यो कुरा को हेक्का राख्नुपर्छ र राख्नुपर्ने थियो कि ती अन्याय सहनेहरूले बिर्सेका छैनन्। तिनले ठाउँ पाउने बित्तिकै तपाईंहरूसँग बदला लिने छन्। तपाईंहरू तिनका सामु पर्दा डराउन सिक्नुपर्छ। अझ तपाईंहरूले कसैको अन्यायपूर्वक जागिर खान, षडयन्त्र नै गर्नुभएको छ वा थियो भने त तिनका सामु पर्दै नपर्नु।
समय बलवान हुन्छ र एउटै समय सधैं रहँदैन भन्ने कुरा घमण्डका बादशाह पूर्व प्रधानमन्त्री के.पी. ओली र दुर्गा प्रसाई बीचको सम्बन्धले पनि देखायो। जुन प्रसाई के.पी. का महाभक्त थिए, तिनी आज यसरी बदला लिने कुरा सार्वजनिक भाषणमा गर्दै छन्। किन त? भन्दा “तलका माथि चुरचुर घमण्डमा रहँदा गरिएको क्षति र आत्मसम्मानमाथिको चोट नै होला।”
समस्या प्रसाईको वफादारीमा होइन, के.पी. को घमण्डमा थियो। सायद के.पी.ज्यूले यो सोच्नेसम्म सोचेनन् कि आज मसँग रहेको पद र शक्ति भोलि हुने छैन। ढिलोचाँडो जानेछ।
संसारमा केही स्थायी छैन। परिवर्तन नै सत्य हो। जसले परिवर्तनको सिद्धान्त बुझ्दैनन्, तिनलाई समय आफैंले परिवर्तन बुझाइदिन्छ।
शक्ति र शासनमा रहँदा कसैप्रति गरिएको न्याय र अन्याय दुवै ब्याजसहित फर्कने रहेछ।
यसको थोरै भए पनि माफी र मुक्ति पाउने बाटो भनेको “बिहान उठेपछि र हरेक रात सुत्नुअघि ती अन्याय गरिएका एकएकलाई सम्झँदै माफी माग्नु र भन्नु — ‘हे भगवान, मबाट घमण्डमा फलानाको क्षति भयो, माफ पाउँ।’ हरेक दिन मागिरहनु।” नमरुँजेलसम्म।
(यो काम हामी हरेक हाकिम भएका सबैले गर्नु पर्छ, जसले यस्तो पाप तलकालाई गरेका छौँ ।
नव जन प्रहारबाट ।