Thursday, October 9, 2025

किन हामी तीहाँ हिजो माया गरेका नेता र व्यवस्थाको विरोधमा बारम्बार उत्रन्छौं?

ताजा / भरखरै प्राप्त

———-बसन्त कुवर

२०६४ साल र २०७४ सालको परिवर्तन थाहा भएन। त्यसपछि २०३६, २०४६, २०६२/६३ र हालका जेन्जीसम्मका आन्दोलनहरूमा कहिले विद्यार्थी भएर सरकारले विरोधमा सडकमा भाग लिइयो, कहिले प्रहरी भएर सरकार जोगाउन नागरिकहरूसँगै लडियो। हालै जेन्जी आन्दोलनमा भद्र नागरिक भएर साथ दिइयो। ६० वर्ष पार गरेपछि मैले पनि सडक आन्दोलन र सरकार तथा व्यवस्था परिवर्तनको एउटा लामो श्रृंखला देख्ने र आफैले पनि भाग लिने अवसर पाएँ ।

अहिले उमेर ६० वर्ष काटेपछि स्पष्ट अनुभव भयो कि जब—जब नागरिकहरूको विद्रोह वा आन्दोलनमा प्रहरीले राज्यको तर्फबाट लडायो, त्यसमा अधिकांश लडाइँ हारियो र जब—जब नागरिकले सरकारविरुद्ध साँच्चिकै सडकमा निस्किए, अधिकांश जिति भयो। लामो अनुभवमा यही बुझियो: “जब नागरिकहरू सरकारविरुद्ध साँच्चिकै सडकमा निस्किन्छन्, त्यो सरकार वा व्यवस्था गिर्ने रहेछ। ती शासक ढल्ने रहेछन्।” त्यसैले कुनै पनि सरकारले नागरिकलाई सडकमा ननिस्कन दिने अवस्था नै नबनाउने हो भने त्यसलाई चलाउन सकिन्छ। नागरिक निस्किसकेपछि त्यो सरकार वा व्यवस्था ढिलो छिटो समाप्त हुने नै रहेछ। हालै पनि दुई तिहाइ भन्ने सरकार ढलेपछि त्यो कुरा अझ थप प्रमाणित भएको छ।

तर यस उमेरमा पनि मैले यो कुरा अझै बुझिन कि “नागरिकहरूले आफैंले लडेर, साथ दिएर ल्याएका हरेक परिवर्तनले त्यतिबेला नागरिकलाई मात्र होइन, पुलिसलाई पनि खुशी दियो। देशले नयाँ सरकार र व्यवस्था पाएपछि त्यस परिवर्तन ल्याउने नेतृत्वप्रति जनताको मात्र होइन, पुलिसको पनि अपार साथ र समर्थन हुन गयो। तर केही समयपछि नै त्यही व्यवस्था र तीै साथ दिएका नेताहरूविरुद्ध हामी फेरि सडकमा उत्रिन्छौं र नागरिक र पुलिस सडकमा फेरि एकअर्काविरुद्ध लड्छौं।

हिजो काँधमा बोकी दुबै पक्षले अबीर मालाका साथ कुर्सिमा पुर्याएका नेता ज्यूहरूमै फेरी तिनै हिजो माला लगाउनेहरू नै एक थरी आगो लगाउन र कुटपिट गर्न जाँदा रहेछन् र एकथरी पुलिस भएर जोगाउन लाग्दा रहेछौं। यही क्रममा हामी पुलिस र जनता एकअर्कालाई मार्न-मर्न पनि तयार हुँदै रहेछौं। यो चाहिँ के हो? किन हो बुझिएन। यसमा त हामीमा जंगली हिंसक जनावरहरूको क्रूर व्यवहार पनि देखियो होइन र? जहाँ आक्रोशमा हामी आफन्त र परिवारलाई पनि मार्न वा तिनीहरूसँग मर्न तयार हुन्छौं?

आज हामीले कुट्न-पिट्न र लखेट्न र फ्याल्न गएका नेता र व्यवस्था त त्यही व्यक्ति वा व्यवस्था थिए जसलाई हामीले हिजो भरखरै अपार माया गर्थ्यौं। फेरि आज उहाँहरूको बिरुद्ध हामी यति छिटो किन उत्रियौं? जनताले बारम्बार यो किन गरिरहेछन्? यो कुराको सही उत्तर चाहिँ मैले ६० वर्ष काटेर पनि अझै पत्तो पाउन सकेको छैन र मलाई लाग्छ यो कुराको सही उत्तर जबसम्म थाहा हुँदैन र त्यो कमजोरी/गल्ती हामीले सुधार्दैनौं, तबसम्म नेपालमा कुनै पनि व्यवस्था टिक्ने छैन र यहाँ शान्ति, विकास र स्थायित्व कहिले हुने छैन । मेरो अनुभवले त यही बतायो ।

पूर्व एसएसपी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles