पर्साका वीरगन्ज महानगरमा लागेको दशैंका मेलामा मंगलबार राति युवाहरूबीच भएको कुटपिटमा एक जना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका करिब २२ वर्षीय शिवम साह कानु उर्फ (गोल्डेन खान) रहेका छन् । मृतकका बुबा हिन्दु र आमा मुस्लिम भएको प्रहरीका स्रोतले जनाएको छ ।
मंगलबार राति करिब १२.३० बजे माईस्थान–गीता मन्दिर जाने बाटोमा मेलामा घुमिरहेका युवाहरूबीच विवाद भई कुटाकुट भएको थियो । सो क्रममा कानुलाई कठ बाँसले टाउकोमा प्रहार गरिएको पर्साका प्रहरीले जनाएको छ । गम्भीर घाइते उनलाई उपचारका लागि बिरगञज नारायणी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा पर्साका प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । पर्साका प्रहरी उपरीक्षक प्रहरी प्रमुख (एसपी) सुदीपराज पाठकले घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । पर्सा प्रहरीका अनुसार, यो ग्याङ फाइट नभई एक व्यक्तिलाई लक्षित गरि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन् ।