Thursday, October 9, 2025

तीन जिल्लामा रोकिए काठमाडौं आउने सवारी साधनहरु:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी प्रमुख भन्छन् -बाटो बन्द छ ,यात्रा नगर्नु है,

चितवनबाट काठमाडौंतर्फ आइरहेका र काठमाडौंबाट निस्किएका सवारी साधनहरू चितवन, तनहुँ र धादिङमा रोकिएका छन् ।पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र नारायणगढ–मुग्लिन सडकमा भएको अवरोध र अवरोध हटाइएको बारे सडक डिभिजन कार्यालय भरतपुरले तीन वटा सूचना सामाजिक सञ्जालमा राखेको छ । जसमा सडक अवरोध भएको र खुलेको जानकारीसहित सूचना पोस्ट भएको छ ।
मुख्य गरी यो राजमार्गमा पर्ने नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला र मुग्लिन–नागढुङ्गा अन्तर्गतको धादिङतर्फ पर्ने जवाङ खोलामा ठुला पहिरोको जोखिम छ । धादिङ प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसार रातीदेखि नै जवाङ खोलामा पहिरो जाँदा बाटो रोकिएको छ ।

राती दुई बजेदेखि पहिरो खसेर पूर्ण रूपमा रोकिएको सडक खुलाउँदै जोखिममा रहेका सवारी पास गराउँदै गरिएपनि पटक पटक पहिरो खसिरहेको कारणले बाटो पूर्ण रूपमा बन्द भएको एसपी रिजालले बताए ।
उनका अनुसार जोखिमको अवस्थामा रहेका सवारी साधनलाई १७ वटा होल्डिङ सेन्टर पहिचान गरी ट्रक, बस तथा साना गाडीलाई छुट्टाछुट्टै रोकिएको छ । अनिवार्य कटाउनुपर्ने अवस्थामा रहेका सवारी साधनलाई जम्मा गरेर बाटोको अवस्था हेरि प्रहरीले नै सुरक्षा दिँदै पहिरो कटाउने गरिएको उनले बताए ।
‘सकेसम्म हामीले नयाँ सवारीलाई बाटोमा नआउन भनेका छौँ, उनले भने अहिले जोखिमको अवस्थाका कारण धादिङतर्फको राजमार्ग पूर्ण रूपमा रोकिएको अवस्था हो । घर फिर्ता जानसक्ने यात्रुहरूलाई पनि हामीले फर्किन अनुरोध गरिरहेका छौँ ।
मुग्लिन–नागढुङ्गा सडकको आयोजना प्रमुख केदार नेपाल पहिरोको कारणले भने बाटो नरोकिएको बताउँछन् । उनले नेपाल प्रेससँग कुरा गर्दै सडकले जवाङ खोलाको पहिरो हटाइसकेको बताए । यद्यपि पहिरो कतिबेला खस्न सक्छ भन्ने यकिन भने नभएकोले सुरक्षाकर्मीको कुरालाई मानेर मात्रै यात्रामा निस्किन उनले अनुरोध गरे ।
कुनै अवरोध नभएपनि तनहुँतर्फको ट्राफिक प्रहरीले काठमाडौँ तथा चितवनतर्फको सडकमा भएको जोखिमको कारण सवारी साधन रोकेको जनाएको छ । तनहुँका ट्राफिक प्रमुख इन्स्पेक्टर कृष्णबहादुर चन्दले सडकको जोखिमबारे जानकारी गराउँदा गराउँदै पनि सवारी चाप भने बढिरहेको बताए ।
उनले राजमार्गको सुरक्षालाई मध्यनजर गरी धादिङ र चितवनतर्फ समन्वय गरेर डुम्रे, आँबुखैरहनीमा गाडी होल्ड गरेको बताए । बिहान ७ बजेदेखि होल्ड गरेर सडकको अवस्था बुझेर मात्रै छोडिएको उनको भनाइ छ ।
यता चितवनतर्फ भने तत्कालले ठुलो पहिरोको जोखिम तुइनखोलामा देखिएपनि नारायणगढ–मुग्लिनको ३६ किलोमिटर क्षेत्रको धेरै स्थानमा ढुङ्गा खसिरहेको जोखिम स्थल भएकोले बिहान ६ बजेदेखि नै यात्रुहरू रोकेको चितवन प्रहरीले जनाएको छ ।चितवनको आँपटारीमा सुरक्षाकर्मी खटाएर यात्रु रोकिएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले बताए । राजमार्गको जोखिम बढ्दो भएको कारण ठुलो पानी पर्ने समयअवधिभर राजमार्ग खाली राख्ने पक्षमा प्रहरी रहेको छ ।
‘हामीले अहिले सवारी साधन छोड्न सक्ने अवस्था नै छैन, एसपी पुरीले भने, – ठाउँ ठाउँमा ढुङ्गा खसिरहेका छन् । यात्राभन्दा पनि यात्रुको सुरक्षा मुख्य भएकोले हामीले तीनै जिल्लाको सुरक्षा संयन्त्रको छलफलबाट बाटो रोकिएको हो ।
उनले डिभिजन सडक कार्यालयले पहिरो खसेको र हटाएका प्राविधिक जानकारी मात्रै दिएको कारण त्यही सूचनालाई आधार मानेर यात्रा नगर्न समेत अनुरोध गरे । ‘उहाँहरूको काम खसेको पहिरो हटाउने मात्रै हो, यात्रुको सुरक्षा जोखिम आकलन गरेर मात्रै हामीले गाडी छोडेका छौँ । तत्कालै गाडी पास हुने अवस्था छैन, त्यसैले यात्रुहरू घरमै बस्न अनुरोध गरेका छौँ, एसपी पुरीले भनेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles