

वीरगञ्ज, पर्सा।
वीरगञ्ज भन्सार कार्यालय अगाडिको क्षेत्रमा सशस्त्र प्रहरीद्वारा एक महिला र बालकलाई कुटपिट गरिएको आरोप लागेको छ।
जितपुर–सिमरा उपमहानगरपालिकाको जितपुर निवासी महिला सुनिता साह दैनिक उपभोग्य सामग्रीका रूपमा एक बोरा आटा र चामल किनी भारतको रक्सौल बजारबाट फर्कँदै गर्दा भन्सार क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका सई रामबाबु कुशवाहाले रोक्दै निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
कुटपिटका क्रममा महिला र साथमा रहेका बालक दुवै घाइते भएको बताइएको छ। स्थानीयले तत्कालै प्रहरीलाई जानकारी गराउने प्रयास गरे पनि वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी कार्यालयमा सम्पर्क गर्दा फोन नउठेको पाइएको छ।
घटनापछि स्थानीय बासिन्दा तथा व्यापारीहरूले भन्सार क्षेत्रमा दोहोरिँदै आएका यस्ता दुर्व्यवहार र मनमानीप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले भन्सार क्षेत्रमा खटिने सुरक्षाकर्मीहरूले सीमावर्ती नागरिकसँग गैरमानवीय व्यवहार गर्दै आएको भन्दै तत्काल निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
यसैबीच, जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बलका सम्बन्धित निकायले घटनाबारे आधिकारिक टिप्पणी भने दिएका छैनन्।
स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्य वस्तुहरू ल्याउने सर्वसाधारण महिलामाथि पटक–पटक दुर्व्यवहार हुने गरेको छ, तर प्रायः घटनाहरू उजागर हुन नसक्ने अवस्था रहेको छ।
सर्वसाधारणले यस्ता घटनाले प्रहरीप्रतिको जनविश्वास कमजोर बनाउँदै लैजाने चेतावनी दिएका छन् र सशस्त्र प्रहरीको आचरण सुधार्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
न्यूज आजतक दैनिकबाट ।