
कास्की जिल्लाको पोखरा, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) मा कार्यरत नर्सहरू एक साता देखि आन्दोलित रहेको छन् । पारिश्रमिक वृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्सहरू असोज २४ गतेदेखि आन्दोलन गरिरहेका छन् । यस्तै असोज २७ गतेदेखि जिएमसीका नर्सहरू आन्दोलनमा उत्रिएका छन् ।
नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौँ तहको तलब ३४ हजार ७३० रुपैयाँ तोकिएको छ ।मणिपाल र जिएमसीका नर्सहरुले आफुहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने नर्सहरूको माग रहेको छ ।