वीरगञ्ज, ७ कार्तिक।
स्थानीयद्वारा म्याक्सओल मोबिल कम्पनीका प्रशासन प्रमुखलाई मोबिल दलिदिएको तस्बिरमा देखिन्छ ,पर्सा जिल्लाको श्रीसिया नदीमा फोहर र प्रयोग गरिएको मोबिल बगाइरहेको अवस्थामा म्याक्सओल मोबिल कम्पनीका प्रशासन प्रमुखलाई स्थानीयहरूले रंगेहात पक्राउ गरेका छन्।
स्थानीयवासीहरूको भनाइअनुसार कम्पनीले लामो समयदेखि नदीमा फोहर, प्लास्टिकका बोरा, र प्रयोग गरिएको मोबिल फाल्दै वातावरण प्रदूषित बनाउँदै आएको थियो। यस विषयमा स्थानीयले पटक–पटक कम्पनीलाई सचेत गराए पनि बेवास्ता गर्दै आएको आरोप उनीहरूले लगाएका छन्।
घटनाको दिन स्थानीय युवाहरूले फोहर बगाइरहेको ट्रलीलाई रोकेर जाँच गर्दा त्यसमा कम्पनीको प्रयोग गरिएको मोबिल र अन्य फोहर पदार्थ रहेको पाइएको थियो। तत्कालै उनीहरूले कम्पनीका प्रशासन प्रमुखलाई नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएका थिए।
त्यसक्रममा आक्रोशित स्थानीयहरूले प्रतीकात्मक विरोधस्वरूप उनलाई मोबिल दलिदिएका थिए।
स्थानीयवासीहरूको भनाइमा श्रीसिया नदी नजिक बसोबास गर्ने बासिन्दाहरू लामो समयदेखि दुर्गन्ध र प्रदूषणको समस्याबाट पीडित छन्। उनीहरूले वातावरणीय क्षति र सार्वजनिक स्वास्थ्यमा परेको असरको जिम्मेवारी कम्पनीले लिनुपर्ने माग गरेका छन्।
सो घटनाको विषयमा प्रारम्भिक अनुसन्धान प्रहरीले सुरु गरेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


