
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका ६ घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका ५ स्थित तीनधारेमा डेरा कोठा बस्ने २८ वर्षीय राज लामा, उदयपुरको ताप्ले गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर र रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ घर भइ भक्तपुरको चाँगुनारायण नगरपालिका २ सल्लाघारीमा श्री लक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिलबहादुर विक छन् ।
यसैगरी, बागलुङको गल्कोट नगरपालिका २ घर भइ जिल्ला काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ सरस्वती नगरमा रहेको बागलुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय गोविन्द सुनार र कैलालीको लम्कीचुहा नगरपालिका ७ घर भइ काठमाडौं महानगरपालिका २२ स्थित रहेको मनु जेम्स एन्ड ज्वलर्सका सञ्चालक सन्तोष सुनारका २२ वर्षीय छोरा दीपेश रसाइलीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लामा सिक्री तान्दा मोटरसाइकल चलाउने व्यक्ति हुन् भने मगर मोटरसाइकलको पछाडि बसेर सिक्री तान्ने व्यक्ति हुन् ।
यस्तै, विक लुटिएको सिक्री बिक्री गर्ने व्यक्ति हुन् भने गोविन्द सुनार र दीपेश रसाइली लुटिएको समान किन्ने व्यक्ति हुन् ।उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले चोरीका क्रममा प्रयोग गरिएको मोटरसाइकल, लुटपाट गरिएका सुनका गहना, नगद समेत बरामद गरेको छ । नव जनप्रहारबाट ।


