धनुषा जिल्लामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।
विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई हिजो शनिबार साँझ ठक्कर दिएको थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं १ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको जनाइएको छ ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिएका छन् । दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जानकारी दिएको छ ।


