बारा जिल्लाको बिश्रामपुर गाउँपालिका, र नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सहकार्य सम्झौता (MOU) सम्पन्न गरिएको जनाइएको छ ।
सम्झौताअनुसार बिश्रामपुर गाउँपालिकाका सम्पूर्ण नागरिकहरूले अबदेखि नेशनल मेडिकल कलेजमा सुलभ, सहज र झन्झटमुक्त स्वास्थ्य सेवा प्राप्त गर्ने सुविधा पाउने भएका छन्। साथै, विशेष छुट र प्राथमिक उपचारदेखि विशेषज्ञ उपचारसम्मको पहुँच सुनिश्चित गरिने भएको छ ।
यो सम्झौताले गाउँपालिका क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, नागरिकहरूमा उपचार सम्बन्धी आर्थिक भार कम गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै नजिकै उपलब्ध गराउने उद्देश्य राखेको गाउँपालिका अध्यक्ष जुलफेकारले जनाएका छन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बिश्रामपुर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखाका प्रतिनिधि तथा नेशनल मेडिकल कलेजका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेशनल मेडिकल कलेजका प्रतिनिधिहरूका अनुसार, कलेजले यसअघि पनि समुदायमै पुगेर स्वास्थ्य शिविर, निःशुल्क परामर्श तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ, र यो सम्झौता त्यसै प्रयासको निरन्तरता रहेको बताउँछन् ।
गाउँपालिकाका प्रमुखले भने, “हाम्रो लक्ष्य प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै गाउँमै सहज रूपमा उपलब्ध गराउनु हो । यो सहकार्यले त्यस दिशामा ठुलो कदम अघि बढाएको छ।”
यस सम्झौतासँगै बिश्रामपुर गाउँपालिकाका नागरिकहरू अब वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा सहज उपचार सेवा लिन सक्ने भएका छन् , जसले स्थानीय स्तरमै स्वास्थ्य सुरक्षाको अनुभूति दिलाउने अपेक्षा पनि गरिएको छ ।


