धुनषाको जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू २ घण्टापछि प्रहरीको सहयोगमा बाहिरिएका छन् ।मधेश प्रदेशका सभामुखले पद अनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गर्न उनीहरू बिहीबार उपसभामुखको कार्यकक्षामा पुगेका थिए ।तनावका बीच प्रस्ताव दर्ता गरेपछि उपसभामुखको कार्यकक्षबाट बाहिर खोज्दा सभामुख रामचन्द्र मण्डल र नेकपा एमालेका नेता-कार्यकर्ताहरूबीच हात हालाहाल समेत भएको थियो ।प्रस्ताव दर्ताका लागि उपसभामुखले तोक लगाए पनि सभामुख मण्डलले कर्मचारीलाई सचिवालयमा दर्ता गराउन रोकेका थिए । लामो रसाकसीपछि कर्मचारीले प्रस्ताव दर्ता गरेका थिए । त्यसपश्चात् निस्किन खोज्दा सभामुख र तिनका कार्यकर्ताहरूले आफूहरूलाई थुनेको सात राजनीतिक दलका सांसदहरूले बताएका छन्।
सभामुख मण्डल सहित उनका कार्यकर्ताहरूले आफूहरू माथि हातपात गरेको उनीहरूको आरोप छ ।परिस्थिति असहज बनेपछि प्रहरीको सहयोग लिएर सांसदहरू उपप्रमुखको कार्यकक्षबाट निस्किएको जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले बताए ।सभामुख मण्डलले भने आफूले कसैलाई नथुनेको र कसैमाथि कुनै हातपात नगरेको दाबी गरेका छन् ।‘प्रदेश सांसदहरू आफैं आउनुभएको थियो । उपसभामुखको कार्यकक्षमै बस्नुभएको थियो । त्यहीँ लामो समय बस्नुभएका उहाँहरूलाई मैले पनि आफ्नो कार्यकक्षमा बोलाएँ । तर, आउनु भएन,’ सभामुख मण्डलले भने, ‘पछि डीएसपी सहितको प्रहरी टोली आयो र उहाँहरू निस्किनुभयो । हामीले कसैलाई कुनै बन्धक बनाएका छैनौं ।
’नव जन प्रहारबाट ।


