

पर्साका वीरगञ्ज महानगरपालिका–४ अन्तर्गत पर्ने त्रिजुद्ध माध्यमिक विद्यालयको खेल मैदानमा पर्साका प्रहरीले भिड नियन्त्रण अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । सुरक्षा व्यवस्थालाई थप सक्षम र प्रभावकारी बनाउन उद्देश्यले गरिएको यस अभ्यासमा प्रहरी जवानदेखि अधिकृत तहसम्मको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीको विशेष उपस्थितिका बीच प्रहरी नायब निरीक्षक सुनिल पनेरु तथा प्रहरी सहायक हवल्दार भुपेन्द्र प्रसाद यादवले प्रशिक्षण प्रदान गरेका थिए।
यस अभ्यास कार्यक्रममा यस कार्यालय तथा मातहतका कार्यालयहरूबाट गरी कुल २७ जना प्रहरीजन सहभागीता रहेको थियो । सहभागीहरूलाई भिड व्यवस्थापनका वैज्ञानिक तरिका, आकस्मिक परिस्थितिमा अपनाइने कार्यविधि, टोली संचालन प्रक्रिया, सुरक्षा घेरा बनावट, आक्रमक भीडलाई निष्क्रिय पार्ने रणनीति तथा समन्वयात्मक अभ्यासहरू गराईको छ ।
सुरक्षा व्यवस्थापनमा निरन्तर सुधार ल्याउने, आकस्मिक घटनाको जोखिम कम गर्ने तथा प्रहरी बललाई थप सक्षम र तयारी अवस्थामा राख्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम निर्धारित समयमै अनुशासितरूपमा सम्पन्न भएको पर्सा प्रहरीले बताएका छन् ।


