





गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुंगाको निरीक्षण गरेका छन् । आज शनिबार मन्त्री अर्यालले जेनजी प्रदर्शनमा आगजनी पछि पुनर्स्थापित दुवै कार्यालयको निरीक्षण गरेका हो ।
प्रदर्शनको क्रममा भदौ २४ जेन-जी समूहले थानकोट र नागढुंगाको प्रहरी कार्यालय भवन आगजनी गरेका थिए । मर्मत र रंगरोगनपछि प्रहरीले त्यहीँबाट सेवा सुचारु गरेको जनाइएको छ । थानकोट नवनिर्मित भवन उद्घाटन भएको ९ औँ दिनमा नै आन्दोलनकारीले आगजनी गरेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङज्यूले भदौ १६ गते नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।
निरीक्षणमा उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम अधिकारी र काठमाडौँका एसएसपी रमेश थापा पनि सहभागी रहेका थिए ।
प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीले प्रदर्शनमा आफ्नो टिमले हातहतियार, गोलीगठ्ठा र सवारीसाधन क्षति हुन नदिएको बताइन् । गृहमन्त्री अर्यालले प्रहरी कर्मचारीको रासन सुविधा अन्य सुरक्षा निकायको स्तरमा लैजाने गरी अन्तिम तयारी भएको बताएका छन् । उनले भने– ‘अरू सुरक्षा निकायले पाउँदै आएको सरह प्रहरी कर्मचारीहरुलाई पनि रासनको सुविधा वृद्धि गर्ने बताउँनु भएको छ ।


