जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित झापाबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक-६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक-९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली-४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेको हो ।गए राति दमक इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमक-८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठा बाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनको साथबाट ठूलो चापे टाइप-५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको ब्यूरोले जनाएको छ ।
सोधपुछकै क्रममा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए । त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको थियो । थप सोधपुछमा विश्व लिङ्देनले सो हतियार इलाम चुलाचुली-४ बस्ने पवन हाङसुङ्वालाई रु २० हजारमा बिक्री गरेका थिए ।त्यसपछि इलाका प्रहरी कार्यालयको संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको थियो ।
त्यहाँ खाल्डो खनेर लुकाएर राखिएको अवस्थामा ठूलो चापे टाइप-५४ चाइनिज पेस्तोल एक थान तथा पाँच राउण्ड गोली पेस्तोलमै लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।बरामद दुवै हतियार र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


