
नेपाल प्रहरीले गैरहाजिर रहेका २७ जना नेपाल प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको जनाइएको छ । प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर रहेका ती २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन भनेको जनाइएको हो ।
भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदा पनि कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको जनाइएको छ ।
आफूखुशी गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हवलदार, तीन जना सहायक हवलदार, २० जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी रहेका छन् ।
उनीहरुको खोजतलास गराउँदा तथा सूचना टाँस भइसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको हेडक्वार्टरले जनाएको छ।
सम्पर्कविहीन रहेका ती प्रहरीहरूलाई स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात दिनभित्र उपस्थित हुन भनिएको बताइएको छ ।
यदि सन्तोषजनक स्पष्टीकरण नबुझाए कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत प्रहरी कार्यालयले जानकारी दिएको छ ।


