
सुनसरी जिल्लामा प्रहरीले एकैदिन छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रा लागुऔषध गाँजा बरामद गरेको र तीन जनालाई मोटरसाइकलसहितको पक्राउ गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले २४ किलोभन्दा बढी गाँजा फेला पारेका छन् ।
पहिलो घटना मिति २०८२,०८,२१ गते साँझ इटहरी उप–महानगरपालिका–४ मनकामना चोकमा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले धनकुटा, साँगुरीगढी–१० का २९ वर्षीय बिरेन्द्र राईलाई चेकजाँच गर्ने क्रममा उनलाई बोकेको झोलाबाट ५.०३० किलोग्राम गाँजा फेला परेपछि नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राईलाई लागुऔषध सहित इटहरी प्रहरीमा बुझाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ, यस्तै, बराहक्षेत्र नगरपालिका–११ मनाही टोलमा दोस्रो अपरेसन सञ्चालन गरियो, प्रहरी चौकी मधुवनबाट खटिएको टोलीले प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकललाई रोक्दै जाँच गर्दा सवार दुईजनाको साथबाट १९ किलोग्राम गाँजा बरामद भएको हो। मोटरसाइकल चालक सुनसरी, कोशी गाउँपालिका–६ का २१ वर्षीय रामनाथ यादव र पछाडि सवार भारत बिहार सुपौलका १९ वर्षीय भूषण कुमार यादवले बोकेको झोलामा ८ पोका र लेग–गार्डका झोलामा ११ पोका गरी जम्मा १९ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
फेला परेका लागुऔषध तथा मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा थप अनुसन्धान भई रहेको सुनसरीका प्रहरीले जनाएको छ।


