सर्लाही जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको फेनहाराबाट नेपाली नक्कली नोट सहित एक युवकलाई सर्लाहीका प्रहरीले पक्राउ गरेका छन् ।
सर्लाही प्रहरीका अनुसार विष्णु गाउँपालिका–६ स्थित प्रहरीको चेकपोष्टमा इलाका प्रहरी कार्यालय फेनहाराबाट खटिएका प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा मोटसाइकल चालक कौडेना गापा–५ छपकैयाका ३० बर्षीय फिरोज खानको पछाडीको गोजीबाट नक्कली नेपाली नोट बरामद भएका प्रहरीले जनाएको छ ।
खानको गोजीबाट एक हजार दरको ९५ थान नेपाली नक्कली नोट फेला परेपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
पछिल्लो समयमा सीमापारीको स्थानहरुमा नक्कली नेपाली नोट बनाएर नेपाली बजारमा सप्लाई गर्ने कार्यमा वृद्धि भएको हुँदा उक्त कार्यलाई पूर्ण रुपमा निरुत्साहित गर्न प्रहरीले सुक्ष्म अनुसन्धान थालनी गरेको हुँदा उक्त सफलता प्राप्त भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खडकाले जानकारी दिएको छन् ।


