काठमाडौंका मेयर बालेन साह आफ्ना निकट मित्र कुमार बेनको ललितपुरस्थित निवासमा देशका विभिन्न क्षेत्रका ३० भन्दा बढी नेता, अभियन्ता, चिकित्सक, कलाकार र सञ्चारकर्मीसँग छुट्टाछुट्टै तथा समूहगत भेटवार्ता गरेका छन् ।
उक्त भेटघाटमा चिकित्सक डा. भगवान कोइराला, पूर्वसचिव भीम उपाध्याय, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउत, अभियन्ता सागर ढकाल, जेन–जी अभियन्ता रक्षा बम, कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी ऋषि धमला, सम्भव सिरोहिया, सुरजसिंह ठकुरीलगायत सहभागी थिए। बैठकमा महानगरका सल्लाहकार सुनिल लम्साल पनि उपस्थित थिए।
भेटघाटमा सहभागी भीम उपाध्यायका अनुसार, बालेनले सम्भावित नयाँ राजनीतिक यात्राबारे धारणा राख्दै चुनावी प्रक्रियामा अघि बढ्ने संकेत दिएका छन्। उनले वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासमा सहयोग गर्न तयार रहेको बताएका छन्। उपाध्यायले आफू सक्रिय राजनीतिमा नजाने तर बाहिरबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस क्रममा बालेनले केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भएको लामो छलफलको विषयमा पनि सहभागीहरूलाई जानकारी गराएका थिए। उनका अनुसार, रविसँग मिलेर अघि बढ्ने विषयमा छलफल भए पनि शक्ति बाँडफाँट र संरचनागत विषयमा ठोस सहमति नजुटेपछि आफू अहिले छुट्टै बाटो रोज्ने निष्कर्षमा पुगेका छन्।
बालेन निकट स्रोतका अनुसार, उनका सहयोगीहरूले ‘देश विकास पार्टी’ नामको दल निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्, जसको चुनाव चिह्न ‘लौरो’ रहेको छ। आवश्यक परे यसै पार्टीमार्फत चुनावी यात्रामा जाने तयारी भइरहेको बताइएको छ। यसअघि उक्त पार्टी अनन्तराज घिमिरेको नाममा दर्ता भए पनि पछि बालेन निकट व्यक्तिको नाममा सारिएको थियो।
भेटघाटमा सहभागी अर्का एक सदस्यका अनुसार, बालेनले “यदि मैले पार्टी घोषणा गरेँ भने तपाईंहरूको समर्थन रहन्छ कि रहँदैन?” भनेर स्पष्ट रूपमा जिज्ञासा राखेका थिए। अधिकांश सहभागीले सकारात्मक प्रतिक्रिया दिएको बालेनको सचिवालय स्रोतले जनाएको छ।
यद्यपि, रास्वपासँगको संवाद पूर्ण रूपमा टुटिसकेको छैन। बालेनले आफ्नै तयारीलाई प्राथमिकता दिने तर सहकार्यको ढोका पूर्ण रूपमा बन्द नगर्ने रणनीति लिएका छन्। पछिल्ला गतिविधिले बालेन सक्रिय राजनीतिमा नयाँ अध्याय सुरु गर्ने तयारीमा रहेको संकेत गरेको देखिन्छ ।


