
प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन अवधि पूरा गरेका अधिकृतहरूको सरुवाको तयारी सुरु गरेको जनाइएको छ ।
९ महिनादेखि १२ महिनासम्म एउटै जिम्मेवारीमा रहेर काम गरिसकेका डीएसपी, एसपी, एसएसपी तथा ८ महिना अवधि पूरा गरेका डीआईजीहरूको कमाण्ड हेरफेर गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
सरुवा हुनेमा, इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल, प्रहरी वृत्त बौद्धमा सन्तोष रोका, पर्वतमा विजय यादव, मुगुमा रविराज थपलिया र प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारी, जिप्रका डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डप नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की कार्यरत छन् ।
यस्तै, गौशाला वृत्तमा प्रकाश श्रीमल, दरबारमार्गमा नारायण डाँगी, प्युठानमा नरहरि अधिकारी, मालिगाउँमा धनबहादुर बोहरा, जगातीमा चञ्चला श्रेष्ठ, कोहलपुरमा चक्रबहादुर डम्बरपाल, दार्चुलामा गौरव महत, सङ्खुवासभामा कुमारप्रसाद मैनाली र पाँचथरमा अनिश कर्ण कार्यरत छन् ।
यी अधिकृतहरूको कार्यसम्पादनबारे पनि समीक्षा र छलफल जारी छ । केही कमजोर कार्यक्षमताका अधिकृत भएकाले सरुवाको तयारीमा प्रधान कार्यालय जुटेको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बस्ने, तराईका जिल्लाहरू नवलपरासी, कपिलवस्तु, बर्दिया, रुपन्देही, सिराहा, महोत्तरीलगायतका नेतृत्व परिवर्तन गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
कमाण्ड नपाएका एसपीहरूलाई ती जिल्लामा पठाउने गरी सूची तयार भइरहेको जनाइएको छ ।
तर, पर्सा, बारा, धनुषा, बाँके, कास्कीमा भने हाललाई सरुवा रोकिने भएको बताइन्छ । ती जिल्लामा भर्खरै एसपीहरू पुगेर कमाण्ड परिवर्तन भइसकेकाले हेरफेर नगरिने निर्णय भएको छ ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत आईजीपी सचिवालय, उजुरी छानबिन, कार्य तथा मानवस्रोत विभागको कर्मचारी शाखा, गृहमन्त्रालय, साइबर ब्यूरो र मकवानपुर गणमा कार्यरत एसपीहरूको पनि सरुवा चर्चामा रहेको छ । तर, अवधि पुगेका काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागका एसपीको सरुवा भए पनि काठमाडौं प्रहरी परिसर भने नचल्ने भएको जनाइएको छ ।
यस्तै एसएसपीतर्फ एक दर्जनभन्दा बढी अधिकारीहरूको सरुवाबारे छलफल भइरहेको छ । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी रमेश बस्नेतको अवधि एक वर्ष पुग्न लागेकाले उनको सरुवा पनि तयारीमा छ ।
यसपटक लागुऔषध नियन्त्रण ब्यूरोमा रहेका एसएसपीहरूको सरुवा हुने गृहकार्य छ भने मानव बेचबिखन नियन्त्रण ब्यूरो, काठमाडौं, ललितपुर र भरतपुर तालिम केन्द्रमा कार्यरत एसएसपीहरूको भने तत्काल सरुवा नहुने भएको छ ।
ट्राफिक प्रमुख नवराज अधिकारीलाई हटाएर नयाँ नेतृत्व पठाउने तयारी पनि अघि बढेको स्रोतले जनाएको छ ।
डीआईजी तहमा ४ जनाको सरुवा चर्चामा रहेको छ । मधेस प्रदेशका डीआईजी गोविन्द थपलियामाथि तस्करहरूसँगको उठबस देखिएको भन्दै हटाउन दबाब पनि रहेको स्रोतले बताउँछ । यस्तै, बागमतीका अरुण पौडेल, लुम्बिनीका राजेन्द्र भट्ट र गण्डकीका दिनेश आचार्यको ८ महिना अवधि पूरा भइसकेकाले उनीहरूको सरुवाको प्रक्रिया सुरु भएको छ ।
सरकारले फागुन २१ गते राष्ट्रिय निर्वाचनको मिति घोषणा गरेपछि सुरक्षा संयन्त्रलाई चुस्त बनाउन सरुवा तयारी थालिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।


