
काठमाडौँ राष्ट्र निर्माण दल नेपालको औपचारिक घोषणा सभा आज काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा भव्य तथा सभ्य वातावरणमा सम्पन्न हुँदैछ। उक्त कार्यक्रममा देशभरिका विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका नेता–कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, युवा तथा महिला प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
घोषणा सभामार्फत राष्ट्र निर्माण दल नेपालको औपचारिक स्थापना घोषणा गरिनुका साथै दलको राजनीतिक दर्शन, नीति, उद्देश्य तथा भावी कार्यदिशा सार्वजनिक गरिने कार्यक्रम रहेको छ। कार्यक्रममा दलका शीर्ष नेतृत्वद्वारा मुलुकको वर्तमान राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाबारे धारणा व्यक्त गर्दै सुशासन, राष्ट्रिय एकता, समावेशी विकास र जनमुखी राजनीतिलाई मुख्य आधार बनाएर अघि बढ्ने प्रतिबद्धता जनाइनेछ।
कार्यक्रममा विभिन्न वक्ताहरूले देशमा विद्यमान राजनीतिक चुनौती, बेरोजगारी, भ्रष्टाचार, विकास र जनआकांक्षाका विषयमा आफ्ना धारणा राख्नेछन्। साथै युवाको सशक्त सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी र राष्ट्रिय स्वाभिमानको संरक्षणलाई दलको प्राथमिकतामा राखिने जनाइएको छ।
राष्ट्रिय सभा गृहमा आयोजना गरिएको उक्त घोषणा सभालाई व्यवस्थित, अनुशासित र भव्य बनाउन आयोजक पक्षले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। कार्यक्रमले नेपाली राजनीतिक क्षेत्रमा नयाँ वैकल्पिक शक्ति र सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्ने विश्वास गरिएको जनाइएको छ।


