मधेस प्रदेशको तराईमा चिसोको प्रभाव बढ्दै गएसँगै तराई–मधेस क्षेत्रका विपन्न समुदायहरू प्रत्यक्ष रूपमा प्रभावित हुन थालेका छन् । विशेषगरी गरिब, दलित, अपाङ्ग तथा जेष्ठ नागरिकहरू चिसोका कारण स्वास्थ्य जोखिममा परिरहेका बेला सशस्त्र प्रहरी बल नेपालले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको जनाइएको छ । चिसोबाट प्रभावित धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. १ र २ का विपन्न नागरिकहरूलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरले राहत स्वरूप मण्डी (कम्बल) वितरण गरेको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरको आयोजनामा कार्यक्रममा विदेह नगरपालिका वडा नं. १ र २ मा बसोबास गर्ने विपन्न दलित, अपाङ्ग तथा जेष्ठ नागरिकहरूलाई न्यानो प्रदान गर्ने उद्देश्यले मण्डी वितरण गरिएको जनाएको छ । अत्यधिक चिसो र शीतलहरका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा यो कार्यक्रम प्रभावकारी र समयसापेक्ष रहेको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरका गुल्मपति डिएसपी सुरेश कोइरालाले जानकारी दिँदै प्रत्येक वर्ष चिसो मौसममा स्थानीयस्तरमा राहत वितरण गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको बताएका छन् । यस वर्ष विदेह नगरपालिका वडा नं. १ र २ का गरी जम्मा १४४ जना विपन्न दलित, अपाङ्ग तथा जेष्ठ नागरिकहरूलाई मण्डी वितरण गरिएको उनले बताएका छन् ।
उक्त कार्यक्रममा विदेह नगरपालिका वडा नं. १ का वडा अध्यक्ष संजय पाण्डे, वडा नं. २ का वडा अध्यक्ष रामपुकार सहनी, प्रहरी चौकी ठाढीका असई सुरेश सिंह, वडा सदस्यहरू, समाजसेवी तथा स्थानीय सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


