



२१ फागुनको निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार म्यादी (निर्वाचन) प्रहरी भर्ना गरिने सरकारको तयारी । ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ, फागुनमा २१ हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना म्यादी (निर्वाचन) प्रहरी भर्ना गरिने भएको छ।
गृह मन्त्रालयका अनुसार निर्वाचन प्रहरीलाई १० दिन तालिम दिई ३० दिन कार्यस्थलमा परिचालन गरिने छ । मापदण्डअनुसार नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९८० र बाँकी सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) मातहतबाट परिचालन गरिने जनाइएको छ।
म्यादी प्रहरीलाई आधारभूत तलबमानअनुसार तलब, सेवा सुविधा, पोसाक र रासन सुविधा दिइने भएको छ । रासन, तलब र पोसाकबापतको रकम सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिने छ। आउने–जाने तयारी खर्चबापत प्रति व्यक्ति ८४६ रुपैयाँ र ४ दिनको खाजा खर्च एकमुष्ट १२०० रुपैयाँ उपलब्ध गराइने जनाइएको छ। पोसाक भत्ता हिमाल, पहाड र तराई–मधेश अनुसार फरक हुनेछ। नेपाल प्रहरी मातहत खटिनेले निलो डांग्री र टोपी, एपीएफ मातहत खटिनेले सशस्त्रसँग मिल्दोजुल्दो पोसाक र टोपी पाउने छन् ।
नियमित सुरक्षाकर्मीलाई पनि १२०० रुपैयाँ खाजा खर्च दिइने छ, भने भर्ना प्रक्रिया प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने समितिबाट सञ्चालन हुनेछ । आवेदन जिल्ला प्रहरी कार्यालय वा सशस्त्रको गण-गुल्ममा दिन सकिने जनाइएको छ ।
१८ देखि ५४ वर्ष उमेर समूहले आवेदन दिन पाउने छन् । पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षक, विगतका म्यादी प्रहरी, विदेशी सुरक्षा निकायबाट सेवा निवृत्त तथा आवश्यक परीक्षणमा उत्तीर्णलाई प्राथमिकता दिइने छ।
निर्वाचनमा प्रत्यक्ष १६५ र समानुपातिक ११० सिटका लागि मतदान हुनेछ। १०,९६७ मतदान स्थल र २३,११२ मतदान केन्द्र तोकिएका छन् ।आसन्न निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी सवा ३ लाख सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी रहेको छ ।


