आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलेसँगै युवाहरू फारम भर्न उत्साहित भएको देखिएका छन् ।
भर्ना प्रक्रिया सुरु भएसँगै शुक्रबार बारा जिल्ला प्रहरी कार्यालयमा फारम भर्न युवाहरूको लामो लाइन लागेको देखिन सकिन्छ ।
यस पटकको प्रतिनिधिसभा निर्वाचनका लागि कुल १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी गरिएको जनाइएको छ। निर्वाचन सुरक्षामा खटिने उद्देश्यले म्यादी प्रहरीमा भर्ना हुन चाहनेले आज शुक्रबारदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको बताइएको छ।
काठमाडौँ उपत्यकाभित्रका तीनवटा जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीको दरखास्त फारम लिन र बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकहरू म्यादी प्रहरीमा भर्ना हुन पाउने भएको छन् । भर्ना प्रक्रियाअन्तर्गत माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ, भने माघ १२ गते अन्तिम नतिजा प्रकाशन गरिने सबैमा जानकारी गराइएको नेपाल प्रहरीले मधेस प्रदेश खवरलाई जानकारी दिएको छ।

निर्वाचन नजिकिँदै गर्दा म्यादी प्रहरी भर्नामा युवाहरूको उल्लेख्य चासो रहेको देखिएको छ, जसले निर्वाचन सुरक्षाको तयारीलाई थप मजबुत बनाउने अपेक्षा पनि गरिएको जनाइएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय बारामा म्यादी तथा नयाँ नाम (निर्वाचन) प्रहरीका लागि आवेदन दिनेहरूको भीड ।


