Thursday, February 26, 2026

रौतहटमा रास्वपाका उम्मेदवारको स्टिकर टाँसिएको गाडीको ठक्करबाट नाबालिगको मृत्यु

ताजा / भरखरै प्राप्त

रौतहट माघ २२, गते । रौतहटको ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित मस्जिद नजिकै कारको ठक्करबाट एक ४ वर्षीय बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा संलग्न गाडीमा रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलमको अनुहार इंकित स्टिकर टाँसिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार दिउँसो बा.१५ च. ४२४४ नम्बरको कारले घर नजिकै खेलिरहेकी मोहम्मद सगिरकी ४ वर्षीय छोरी अल्फा खातुनलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई कार चालकले सोही कारमा उपचारका लागि सिटी अस्पताल गौर पुर्‍याएका थिए ।

तर उपचारका क्रममा बालिकालाई अस्पतालमै छाडेर कार चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले घाइते बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याएको थियो ।

अस्पताल पुर्‍याएपछि बालिकाको मृत्यु भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए ।

मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल गौरमै राखिएको छ । प्रहरीले दुर्घटनामा प्रयोग भएको कारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेको छ भने फरार चालकको खोजी कार्य तीव्र पारिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटनामा संलग्न कारमा झन्डा भने थिएन, तर रास्वपा उम्मेदवारको अनुहार सहितका स्टिकर टाँसिएको थियो । उक्त स्टिकरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि हतारहतारमा स्टिकर उप्काइएको उनीहरूको दाबी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles