रौतहट जिल्लाको इशनाथ नगरपालिका–४ मठियामा पाँच वर्षीया बालिकालाई ठक्कर दिएर फरार भएका चालकलाई राैतहट प्रहरीले पक्राउ गरेको छ ।
फरार रहेका चालकलाई प्रहरीले खोजतलास गर्दै जाँदा राैतहट जिल्लाको परोहा नगरपालिका–३ तेजापाकड घर भएका २७ वर्षीय शेख मुस्ताकलाई नियन्त्रणमा लिइएको राैतहट प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने इशनाथ नगरपालिका–४ मठिया गाउँस्थित मस्जिद नजिक हिजो दिउँसो करिब २ः३० बजेको समयमा, बा. १५ च. ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा मोहम्मद सगिरकी ५ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई स्थानीयको दबाबपछि चालकले गौरको घण्टाघरस्थित सडक नजिक रहेको सिटी अस्पतालमा पुर्याएर राखेको तर त्यसपछि चालक फरार भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त गाडी राष्ट्रिय स्वतन्त्र पार्टी रौतहट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले घरदैलो कार्यक्रममा प्रयोग गर्दै आएको गाडी रहेको राैतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) वस्यालले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनाको समयमा उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त रहेको थिए” भने गाडीमा चालक एक्लै रहेको थियो ।
मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल गौरमा राखिएको छ, र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीका डीएसपीले जानकारी दिए ।


