Thursday, February 26, 2026

नख्खु कारागारबाट फरार अभियुक्तकै योजनामा बालेनको घरमा चोरि:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको नख्खु कारागारबाट फरार अभियुक्तकै योजना:
रास्वपाका वरिष्ठ नेता बालेनको घरमा चोरी भएका छन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ को घरमा चोरी गर्ने तीन जना व्यक्तिहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको
छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले चप्पल कारखाना क्षेत्रस्थित सितादेवी गुरुङको घरमा रहेको बालेन साहको डेरा कोठामा चोरी गरेका थिए । मुख्य अभियुक्त मानिएका विष्णुबहादुर राजवाहकलाई प्रहरीले माघ २३ गते बाँसबारी क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरी अभिलेखअनुसार राजवाहकविरुद्ध यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको देखिएको छ । उनीमाथि २०७२ जेठ २४ गते प्रहरी वृत्त कालिमाटीबाट साधारण अपराध तथा २०७२ असार ८ गते प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको थियो । साधारण लेखपढ गर्न जान्ने तथा पेन्टरको काम गर्दै आएका राजवाहक चोरीसम्बन्धी मुद्दामा तीन वर्ष छ महिना कैद सजाय भुक्तान गरिरहेका थिए ।

उनी २०७९ भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा नख्खु कारागारबाट फरार भएका थिए । सोही घटनाका क्रममा रास्वपा सभापति रवि लामिछाने पनि केही समयका लागि नख्खु कारागारबाट बाहिरिएका थिए, यद्यपि लामिछाने पछि आफैं कारागार फर्किएका थिए । नख्खु कारागारबाट फरार भएपछि राजवाहक कम्तीमा पाँचवटा चोरीका घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले निर्माणाधीन घरहरूबाट धारा, टुटी लगायतका सामग्री तथा अन्य घरहरूबाट चाँदीका गिलास, कचौरा, दियो र चाँदीका प्लेटहरू चोरी गरेका थिए । राजवाहक काठमाडौं महानगरपालिका–२६ स्थित ‘क्लासिक एण्ड लज इन’ गेस्टहाउसको कोठा नम्बर ४०२ मा बस्दै आएका थिए । उनको कोठाबाट ‘वर्ल्डलिंक’ लेखिएको राउटर र दुई थान सीसी क्यामेरा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, उनको साथबाट ‘एक्रोन गोल्ड’ लेखिएको निलो बिँड भएको एक थान पिलास, सलाई रेन्ची, रेती, स्क्रु तथा कालो रंगको ज्याकेटसमेत बरामद गरिएको छ ।

यसैगरी, खिमबहादुर खड्कालाई प्रहरीले माघ २४ गते जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो । उनी बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त रहेको र २०७९ मंसिर ११ गते प्रहरी वृत्त बौद्धबाट उनीविरुद्ध मुद्दा दर्ता भएको पाइएको छ । बालुवा डिपो सञ्चालन गर्दै आएका खड्काले राजवाहकले चोरी गरी ल्याएका सामानहरू बिक्री वितरण गर्ने गरेको प्रहरीको दाबी छ ।

प्रहरी अनुसन्धानअनुसार राजवाहक र खड्काबीच करिब आठ वर्षदेखि चिनजान रहेको देखिएको छ । घर निर्माण तथा अन्य कामका क्रममा उनीहरूको सम्बन्ध विकसित भएको र राजवाहक खड्काको बालुवा डिपोमा समेत काम गर्ने गरेको खुलेको छ ।

खड्काको भक्तपुरको ठिमी नगरपालिका–दुवाकोटस्थित घरबाट प्रहरीले चाँदीका थाली, कचौरा, रिङ, नट–बोल्ट, सुनजस्तै देखिने लक्ष्मीको मूर्ति भएको झुम्का, चन्द्रमा, सिक्री, बालाजस्ता विभिन्न सामग्री बरामद गरेको जनाएको छ ।

तेस्रो अभियुक्त सञ्जय श्रेष्ठलाई भने प्रहरीले माघ २४ गते नै बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । श्रेष्ठविरुद्ध २०६४ कात्तिक २९ गते प्रहरी वृत्त बौद्धबाट जबरजस्ती करणीको कसुरमा मुद्दा चलेको अभिलेखमा देखिएको छ । उनी पेशाले कृषक रहेको बताइएको छ ।

प्रहरीका अनुसार रामेछाप कारागारमा रहँदा श्रेष्ठ र राजवाहकबीच भेटघाट भई चिनजान भएको थियो । श्रेष्ठले चोरी गरिएका दुई थान ल्यापटप डिस्क राखिदिएबापत राजवाहकबाट आठ हजार रुपैयाँ लिएको खुलेको छ । धादिङको धुनीबेशी नगरपालिका–७ लप्से स्थित उनको कोठाबाट झोला, डेलको ल्यापटप, म्याकबुक प्रो, चार्जर, डीभीआर लगायतका सामग्री बरामद गरिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र बरामद गरिएका सामग्रीहरूको स्रोत तथा अन्य संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीको भनाइ छ ।नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles