बर्दियाको गेरुवा गाउँपालिका–४ खोनपुर नजिक खल्ला गाउँ आसपास रहेको सामुदायिक वन क्षेत्रमा हिजो शुक्रबार दिउँसो करिब ३ बजे निकुञ्ज क्षेत्रबाट आएको अनुमान गरिएको बाघले स्थानीयका पशु चौपायामाथि आक्रमण गरेकोजनाइएको छ । स्थानीय स्रोतका अनुसार आक्रमणमा कर्ण बस्नेतको एक दुधालु भैंसी घटनास्थलमै मरेको छ। त्यसैगरी टेकबहादुर भण्डारीको एक भैंसी र एक पाडा मारिएका छन् भने महलु थारुको एक रागा घाइते भएको छ। घाइते पशुको उपचारको प्रयास भइरहेको जनाइएको छ। घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
सामुदायिक वन र निकुञ्ज क्षेत्र बस्ती नजिकै रहेकाले मानव बस्तीमा थप जोखिम बढ्न सक्ने भन्दै स्थानीयले तत्काल सुरक्षात्मक उपाय अपनाउन माग गरेका छन्। स्थानीयवासीले सम्बन्धित निकाय, डिभिजन वन कार्यालय तथा निकुञ्ज प्रशासनसँग घटनास्थलको निरीक्षण गरी वास्तविक क्षतिको मूल्याङ्कन गर्न, पीडित किसानलाई यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराउन तथा बाघको गतिविधि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।


