Thursday, February 26, 2026

घरभित्र सुतिरहेका राजन अधिकारीमाथि धारिलो हतियार प्रहार,श्रीमती प्रहरीको नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति धारिलो हतियार प्रहार भएको छ ।
घरमै सुतिरहेका बेला राति १०ः३० बजेतिर हतियार प्रहार भएको प्रहरीले जनाएको छ । अपरिचित व्यक्तिले घरमा आएर रातको समयमा अधिकारीमाथि धारिलो हतियारले आक्रमण गर्ने व्यक्तिको पूर्ण पहिचान हुन बाँकी रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए ।

उनका अनुसार अधिकारीमाथि कुन हतियारले आक्रमण गरिएको हो भनेर पनि यकिन भइसकेको छैन । मुख, हात, टाउको, बायाँ कानलगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै अधिकारीलाई उद्धार गरेर उपचारका लागि विराटचोकको सुकुना सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार अधिकारी २ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । फागुन ५ गते नेपाल फर्किएको पाइएको प्रहरीले जनाएको छ । घटना उनकै श्रीमतीको मिलेमतोमा भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।डीएसपी चौधरीका अनुसार अधिकारीकी पत्नी रन्जना कार्की (अधिकारी)लाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ । ‘प्रारम्भिक अनुसन्धानबाट बाहिरी व्यक्तिसँग मिलेमतो गरेर श्रीमतीले घटना गराएजस्तो देखिन्छ । त्यही भएर श्रीमतीलाई नियन्त्रणमा लिएर सोधपुछ र थप अनुसन्धान गर्ने काम भइरहेको छ,’ उनले भने ।

प्रहरी नियन्त्रणमा रहेकी रन्जनाले भने सोधपुछका क्रममा आफैंले श्रीमानलाई खुर्पाले प्रहार गरेको बताएकी छन् । तर, घटनास्थलको प्रकृति हेर्दा उनी एक्लैले घटना गराएजस्तो नदेखिने प्रहरीको भनाइ छ । ‘घटनामा अरु पनि व्यक्ति संलग्न छन् भन्ने आशंका छ । सबै कोणबाट अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको छ,’ चौधरीले भने ।रन्जनालाई हाल इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । घटनामा संलग्न सम्भावित अन्य व्यक्तिको खोजी एवं पहिचानका लागि बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा टोली खटिएको छ ।नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles