Thursday, February 26, 2026

वीरगञ्ज–११ श्रीपुरमा सामाजिक एकता कायम गर्न स्थानीय नेता तथा समाजसेवीहरूको उदाहरणीय पहल:-

ताजा / भरखरै प्राप्त

श्रीपुर–११ मा गराइएको कथित कृत्रिम सम्प्रदायिक तनावप्रति स्थानीयको कडा आपत्ति “हामी आफैं सक्षम छौं, बिचौलियाको आवश्यकता छैन” — श्रीपुरवासी

वीरगञ्ज महानगरपालिका–११, श्रीपुरमा हालै देखिएको भनिएको कृत्रिम सम्प्रदायिक तनावप्रति स्थानीय बासिन्दाहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले उक्त घटनालाई योजनाबद्ध रूपमा सामाजिक सद्भाव बिथोल्ने प्रयासका रूपमा व्याख्या गर्दै यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षसँग माग गरेका छन्।

स्थानीय नेता तथा समाजसेवीहरूको सक्रिय पहलमा समुदायभित्र उत्पन्न विवाद आपसी छलफल, समझदारी र सहकार्यबाट समाधान गरिएको जनाइएको छ। समुदायका अगुवाहरूका अनुसार बाह्य रूपमा अनावश्यक रूपमा फैलाइएको हल्ला र अतिरञ्जित सूचनाले क्षणिक तनाव सिर्जना गरे पनि श्रीपुरवासीहरूले संयमता अपनाउँदै परिस्थितिलाई सामान्य बनाएका छन्।

“हामी आफ्ना समस्या आफैं समाधान गर्न सक्षम छौं। हाम्रो समाजमा आपसी विश्वास, सहिष्णुता र भाइचारा बलियो छ। कुनै पनि बिचौलिया वा बाह्य हस्तक्षेपको आवश्यकता छैन,” एक स्थानीय अगुवाले बताए।

श्रीपुर क्षेत्र बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक समुदायको बसोबास रहेको क्षेत्र भए पनि यहाँको सामाजिक एकता सधैं उदाहरणीय रहेको स्थानीयवासीहरूको भनाइ छ। उनीहरूले विगतदेखि नै आपसी सम्मान र सहकार्यको परम्परा कायम रहँदै आएको उल्लेख गर्दै केही स्वार्थ समूहले समाजमा विभाजन ल्याउने प्रयास गर्नु दुःखद भएको बताएका छन्।

स्थानीय समाजसेवीहरूले अफवाह र भ्रामक सूचनाबाट सचेत रहन सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने अपुष्ट जानकारीले समाजमा अनावश्यक तनाव उत्पन्न गर्न सक्ने भएकाले सत्यतथ्य पुष्टि नगरी कुनै पनि सूचनामा विश्वास नगर्न उनीहरूको अनुरोध छ।

श्रीपुरवासीहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गरेका छन्। साथै, यदि कसैले जानाजानी सामाजिक एकता बिगार्ने, वैमनस्यता फैलाउने वा दंगा भड्काउने प्रयास गरे कानुनी प्रक्रियामार्फत कडा कारबाहीको माग गरिने चेतावनी दिएका छन्।

समुदायका प्रतिनिधिहरूले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन ध्यानाकर्षण गराउँदै दीर्घकालीन शान्ति र एकता सुदृढ गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles