Tuesday, March 31, 2026

गृहमन्त्री सुधन गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण सम्पन्न:-

ताजा / भरखरै प्राप्त

माननीय गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन दिएको छन् ।

गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएका छन् ।

गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपि) दान बहादुर कार्की, र प्रहरी अतिरिक्त महानिरीक्षक एआजीहरू, प्रहरी नायव महानिरीक्षक डीआईजीहरू वरिष्ठ प्रहरी अधिकृत एसएसपहरूले हार्दिक स्वागत गर्नुभएको छन् । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको छ ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयस्थित सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, Artificial Intelligence and Advanced Analytics Cell, डाटा सेन्टर र पोलीग्राफ सेक्सनको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभएका छन् ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभएका छन् । सो क्रममा उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा समेत अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिनुभएका छन् । प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने समेत उहाँले उल्लेख गर्नुभयो ।

गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाको लागि उच्चतम प्रयोग गर्न समेत उहाँले जोड दिनुभएको छ । विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोत युक्त बनाउनुका साथै समयानुकुल आवश्यक तालिमहरूको समेत व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभएको छ । प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादन एवम् वैज्ञानिक प्रणालीको आधारमा हुने उल्लेख गर्दै सांगठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकुल प्रविधिमैत्री एवम् साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको उनले बताएका छन् ।

कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले विभिन्न कठिनाइहरूका बाबजुद प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ऐतिहासिक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न गराउन प्रत्येक प्रहरी कर्मचारीले निर्वाह गरेको व्यावसायिक भूमिकाको उच्च सम्मान गर्नुभएका छन् । साथै निर्वाचनको समयमा नेपाल प्रहरीले प्रदर्शन गरेको सक्षमताले नेपाल प्रहरीले जस्तोसुकै परिवेशमा पनि कार्यसम्पदान गर्न सक्षम रहेको पुष्टि समेत गरेको बताउनुभएको छ । विगतको भन्दा फरक शैलीमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभएका छन् ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार र मानव अधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरूको परिधिभित्र रहँदै सत्य, सेवा, सुरक्षणमको मर्मलाई निष्ठापूर्वक पालना गर्दै आइरहेको बताउनुभएको छन् । प्रहरीको दक्षताबाट राज्यको प्रभावकारिता पुष्टि हुने र नागरिकका अपेक्षाहरू वास्तविक रूपमा सम्बोधन हुने उल्लेख गर्दै संगठन र संगठनमा आबद्ध जनशक्तिको क्षमता, दक्षता, मनोबल अभिवृद्धि सँगै साधनस्रोतको उपलब्धताका साथै गृहमन्त्रीज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समयसापेक्ष र व्यावसायिक निर्देशनले अत्यन्तै उत्साहित बनाएको बताउनुभएको छ । गृहमन्त्रीबाट व्यक्त भएका सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशनले नेपाल प्रहरी प्रधान कार्यालय तथा देश भरी छरिएर रहेका प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममूखी हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक कार्कीले प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउने सन्दर्भमा नेपाल प्रहरी संगठन र संगठनमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरू कटिबद्ध रहेको बताउनुभएको छ ।
प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, प्रविधिमैत्री, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव क्रियाशील रहेको बताउँदै नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा गृहमन्त्रीज्यूबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत व्यक्त गर्नुभएको छ । जस्तो सुकै कठिन परिस्थितिहरूका बीचपनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आम जनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको बताउनुभएको छन् ।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री गुरूङ समक्ष प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, इन्टरपोल शाखाद्वारा सम्पदित कामहरू, प्राप्त वैदेशिक सहायता, चालु आर्थिक वर्षमा सम्पादित मुख्य कार्यहरू, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त (एआईजी) महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू, वरिष्ठ प्रहरी अधिकृत (एसएसपी(हरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles