सशस्त्र प्रहरी तस्करी नियन्त्रणका लागि खटिएको सुरक्षा टोलीले ठुलो परिमाणमा तस्करीको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल बाँकेले जनाएको छ ।
सशस्त्र प्रहरी बल (स.प्र.बल), नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित पिप्रहवा र जयसपुर क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको रु. ८ लाख ४० हजार १० बराबरको विभिन्न सामग्री नियन्त्रणमा लिएको जनाएको छ ।
स.प्र.बलको नियमित गस्ती तथा विशेष सूचनाको आधारमा गरिएको निगरानीका क्रममा उक्त सामानहरू बरामद गरिएको बताइएको छ। सीमावर्ती क्षेत्रमा पछिल्लो समय तस्करी गतिविधि बढ्दै गएको सूचनाका आधारमा सशस्त्रका टोलीले कडाइका साथ चेकजाँच गर्दा तस्करहरूले लुकाएर ल्याउँदै गरेको सामान फेला परेको सशस्त्र प्रहरीले बताउँछन् ।

बरामद गरिएका सामग्रीहरूमा लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामग्री, तरकारी तथा फलफूल रहेका छन् । यस्तै, ती सामान ढुवानीमा प्रयोग गरिएका दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बलका अनुसार सीमा क्षेत्रका विभिन्न नाकाबाट साना–ठूला परिमाणमा दैनिक रूपमा हुने अवैध आयातले राज्यको राजस्वमा ठूलो क्षति पुर्याउँदै आएको छ। यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले नियमित रूपमा निगरानी र अपरेशन तीव्र बनाएका छन् ।
बरामद गरिएको सम्पूर्ण सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय, जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बताउँछन् ।
स्थानीय स्रोतका अनुसार पिप्रहवा र जयसपुर क्षेत्र लामो समयदेखि सानो स्तरको तस्करीका लागि प्रयोग हुँदै आएको क्षेत्र रहेको छ, र खुला सिमाना, सीमित जनशक्ति र रातको समयमा कमजोर निगरानीका कारण तस्करहरूले सहज रूपमा गतिविधि सञ्चालन गर्दै आएका छन् । तर पछिल्लो समय सुरक्षा निकायले सक्रियता बढाएपछि यस्ता घटनाहरू क्रमशः सार्वजनिक हुन थालेका छन्।
सुरक्षा अधिकारीहरूका अनुसार अवैध रूपमा भित्र्याइने सामानहरू प्राय स्थानीय बजारमा सस्तो मूल्यमा बिक्री गरिन्छ, जसले वैधानिक रूपमा व्यापार गर्ने व्यवसायीहरूलाई प्रत्यक्ष असर पार्ने गरेको बताउँछन् ।
साथै, यसले राज्यको कर प्रणालीलाई समेत कमजोर बनाउने भएकाले यस्तो गतिविधि रोक्नु अत्यावश्यक रहेको उनीहरूको भनाइ रहेको छ ।
स.प्र.बलले सीमावर्ती क्षेत्रमा निगरानी अझ कडा बनाउने र सूचना संकलन प्रणालीलाई थप सुदृढ गर्ने योजना बनाएको जनाएको छ। साथै, स्थानीयवासीसँग सहकार्य गरेर तस्करी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने प्रयास भइरहेको पनि सशस्त्र प्रहरीले बताउँछन् ।


