Sunday, January 12, 2025

ट्राफिक प्रहरीमाथि कारबाहीको मागदुम्कीबासको पुल ओभरलोडले भाँचिएको आरोप:-

ताजा / भरखरै प्राप्त

बुटवल-नारायणगढ खण्डको दुम्कीबासमा पुस २६ गते भारतीय हेभी ट्रकले ठक्कर दिंदा पुल भाँचिएको घटनामा ट्राफिक प्रहरी दोषी रहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघले आरोप लगाएको छ ।
पुस २६ गते दिउसो एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक पुलबाट पुर्वतर्फ पास हुने क्रममा पुल एक्कासी भाँचिएको थियो ।
उक्त भारतीय ट्रकले शिवम सिमेन्ट उद्योगको हेभी जेनेरेटर मेसिन बोकेको थियो ।
मालवाहक सवारी साधन भारवहन नियमन सम्वन्धि कार्यविधि २०७१ ( संशोधन २०७४) अनुसार ठाउँ-ठाउँमा भार मापन गरेर मात्र सवारी साधन चल्न दिनुपर्ने नियम प्रभावकारी कार्यान्वयन नहुँदा ओभरलोडका
कारण पुल भाँचिन गएको महासंघको दाबी छ ।
उक्त घटनाप्रति ध्यानाकर्षण जनाउँदै महासंघले ट्रक व्यवसायीहरुले वर्षौंदेखि भारतीय मालवाहक सवारी साधनबाट भइरहेको ओभरलोड ढुवानी रोक्नुपर्ने माग गर्दै आए पनि राज्यका निकायले बेवास्ता गर्दा नेपालका सडक र पुल पुलेसामा क्षति हुने गरेको उल्लेख गरेको छ।

महासंघका महासचिव राजेन्द्रविक्रम बानियाले प्रेस विज्ञप्ति जारी गर्दै गत मंसिर २ गते गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सवारी साधन दुर्घटना न्यूनीकरणसम्बन्धी भएको छलफलमा ओभरलोड बोकेका सवारी साधन दुर्घटना भएमा उक्त सवारी साधनले पार गरेको अन्तिमको प्रहरी इकाइ प्रमुखलाई जिम्मेवार बनाउने निर्णय भएको स्मरण गराउँदै लुम्बिनी प्रदेशका सम्बन्धित निकायलाई कारवाही गर्न माग गरेका छन् ।‘मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि २०७१ ( संशोधन २०७४) लागू भएको अवस्था र कार्यविधिको दफा २ को (झ) मा मालवाहक सवारी साधनले बोकेको सामान सहितको भार प्रमाणित हुने सम्बन्धित सरकारी निकायको वा नेपाल ट्रक यातायात व्यवसायी महासंघले सञ्चालन गरेका तौलपुलले जारी गरेको प्रमाणित कागजात अनिवार्य रुपमा लिएर हिंड्नुपर्ने व्यवस्थालाई उल्लंघन गरी बढी भार वहन गरी सवारी साधन संचालनमा रहेको कारणले देशका राष्ट्रिय राजमार्ग र पुल पुलेसामा क्षति हुनुका साथै दुर्घटना समेत हुन गएको छ’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी र विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रणमा सरकारका सम्बन्धित निकायबाट विशेष पहल गर्न गम्भीर ध्यानाकर्षण गराउँछौं ।
’पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो ।
मालवाहक सवारी साधनको भारवहन सम्बन्धी निर्देशिका २०७४ (संशोधन सहित) अनुसार नेपालका सडकमा अधिकतम ४०.२ टन बोक्न पाइने नियम छ ।
ट्रक व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय ट्रकले क्षमताभन्दा दोब्बर सम्म बढी भार बोकेर गुड्ने गरेपनि राज्य पक्षले प्रभावकारी नियन्त्रण गर्न नसक्दा नेपालका पुल र सडकमा ठूलो क्षति पुगरिहेको बताए ।
३ हजार रुपैयाँको जरिवाना रसिद काटेर भारतीय ट्रकलाई क्षमता भन्दा झण्डै दोब्बर ओभरलोड बोक्न छुट दिँदा यसअघि रुपन्देहीको शितलनगरको पुल र पश्चिम नवलपरासीको लोकाहा पुल पनि भाचिएको र अहिले दुम्कीबासको पुल भाँचिएको पोखरेलको
दाबी छ ।
‘भारतीय ट्रकले निर्वाध ओभरलोड ढुवानी गर्न पाउँदा एकातिर नेपालका पुल र सडकमा क्षति भएको छ, अर्कोतिर नेपाली ट्रक व्यवसायीको काम खोसिएर विस्थापित हुनुपरेको छ भनेर ट्रक व्यवसायीले वर्षौंदेखि राज्यलाई भनेका छौं तर सुनुवाइ भएन’, पोखरेल भन्छन् , ‘भारवहन सम्बन्धी राज्यले बनाएका ऐन कानून अनुसार भन्सार विन्दुमै ओभरलोड नियन्त्रण गरिनुपर्छ ।’
नेपालमा १४ पाङ्ग्रा (चार एक्सल) भन्दा बढी भार वहन क्षमताका सवारी साधनको तौल नाप्ने पुर्वाधार नै बनेका छैनन् । जसले गर्दा भारतीय ट्रकले नगन्य जरिवाना तिरेकै भरमा अत्यधिक भार बोकेर गुड्दा नेपालका पुल र सडकमा क्षति पुग्ने
गरेको छ ।भारवहनसम्बन्धी कार्यविधि र निर्देशिका अनुसार मालवाहक सवारीले प्रस्थान विन्दु नजिक, मध्य बिन्दु र गन्तव्य नजिकको तौलपुलमा अनिवार्य रुपमा तिन पटक तौल गराई लोडसिट राखेर मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।
तर यो व्यवस्था पालन नभएको लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष रुमाखर गौतम बताउँछन् ।
नेपालमा सरकारी तहबाट चितवनको भरतपुरमा मात्रै तौल पुल बनाइएको छ । तर, यसको नियमित सञ्चालन र प्रयोग नभएको व्यवसायीहरु बताउँछन् । सडक डिभिजन कार्यालय नवलपुरका प्रमुख नारायण लामिछानेले दुम्कीबासको पुल भाँचिनुमा ओभरलोडसँगै पूलको आयू समेत सकिनु अर्को कारण भएको बताउँछन् । ‘बुटवल–नारायणगढ खण्डका स्टिल ट्रस ब्रिजहरु २०३२ देखि २०३५ सालको बीचमा ब्रिटिस सरकारको सहयोगमा बनेका हुन्,५० वर्ष पुगेकाले पुलको आयू पनि सकिएको हो, ओभरलोड पनि अर्को कारण हुनसक्छ’, लामिछानेले भने ।
पुल भाँचिएको विषयमा सडक विभाग पुल महाशाखाका उपमहानिर्देशक ललितजन खनाल,एशियाली विकास बैंक आयोजना निर्देशनालयका निर्देशक युवराज ढकाल सहितको टोलीले स्थलगत अवलोकन गरेर फर्केको र अध्ययन प्रतिवेदन आएपछि थप तथ्य थाहा हुने लामिछानेले बताएका छन् ।
साभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles