वन तथा वातावरणमन्त्री त्रिभुवन साह वडा वडामै गएर योजना खरिदबिक्री गर्दै ।
विनय आजाद
सिरहा । नेताहरूले चुनावमा गुलिया प्रतिबद्धता जनाउने तर चुनावपछि भ्रष्टाचारमा लिप्त हुने विषय नयाँ होइन । आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने दलबाट सत्तामा पुगेका नेताहरूको प्रवृत्ति पनि उस्तै छ ।
जनमत पार्टीबाट मधेश प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री रहेका त्रिभुवन साह योजना खरिदबिक्री प्रकरणमा आलोचित पात्र हुन् । साहले पदको गरिमा समेत नराखी गैरकानुनी ढंगले वडा वडामै गएर उपभोक्ता समिति बनाउनेदेखि विकास निर्माणका काम पनि आफैंले ठेकेदार लगाएर गराइरहेको तथ्य फेला परेको छ ।
मधेश प्रदेश सरकारमा अहिले वन तथा वातावरणमन्त्री रहेका त्रिभुवन साहले चुनावताका मत माग्दा आफूले भ्रष्टाचार नगर्ने र गरेमा जुत्ताको माला लगाएर मोसो दल्दै क्षेत्रभरि घुमाइदिनु भनेर मतदातसमक्ष बाचा गर्नुभएको थियो ।
“यदि मलाई कसैले भ्रष्टाचार गरेको भनेर प्रमाणित गर्यो भने, म अहिले नै घोषणा गरिदिन्छु कि मलाई जुत्ताको माला लगाएर कालो मोसो दलेर पूरा यो ४ नम्बर क्षेत्रभरि घुमाइदिनुहोला”, मन्त्री साहले भन्नुभएको थियो ।
तर, मन्त्री बनेपछि साह अहिले मन्त्रालयको योजना खरिदबिक्री प्रकरणमा आलोचित बन्नुभएको छ । पदको गरिमा समेत नराखी गैरकानुनी ढंगले वडा वडामै गएर उपभोक्ता समिति बनाउनेदेखि विकास निर्माणका काम पनि आफैंले ठेकेदार लगाएर गराइरहेको तथ्य फेला परेको छ । सिरहा ४ (क) बाट निर्वाचित मन्त्री साहले केही दिनअघि सिरहाको मिर्चैया नगरपालिका- ५ का वडाध्यक्ष प्रदीप साहलाई आफैं आएर भेट्नुभएको थियो । मिर्चैया छेउको बतहा र जीवा खोलामा एक करोडको तटबन्ध निर्माणका लागि आफूले गठन गरेको उपभोक्ता समितिलाई रुजु गरिदिन मन्त्री साहले आर्थिक प्रलोभन सहित वडाध्यक्षलाई आग्रह गर्नुभयो ।
मन्त्री साहले यसरी उपभोक्ता समिति गठन गरेर योजनाका काम भने आफैंले ठेकेदार लगाएर गराइरहनुभएको छ । यसका लागि मिर्चैयास्थित संस्था चोकमा स्थानीय तह र जिल्ला समन्वय समितिबाट अनुमति नै नलिई ग्राभेल पनि भण्डारण गरेर राखिएको छ । यति मात्र होइन, अवैध ढंगले ग्राभेल उत्खनन तथा भण्डारण गरेर साहले बिक्री पनि गर्दै आउनुभएको छ ।
मन्त्रीहरूले वडा वडामै बिचौलिया राखेको, उनीहरू योजनाका चिठी र ठेकेदार बोकेरै आउने गरेको भन्दै स्थानीय जनप्रतिनिधि र अगुवाहरूले आक्रोश पोखेका छन् ।
आफूलाई वैकल्पिक राजनीतिक दल दाबी गर्ने जनमत पार्टीले आफ्ना मन्त्रीको यस्तो रवैयाप्रति आँखा चिम्लेर बस्नु निकै शंकास्पद छ ।
नव जनप्रहार साभार।