

खोज तलास खबर, जनकपुरधाम ! नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारमाथि भएको आक्रमणको विरोधमा शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना प्रदर्शन गरेको छ। धर्नामा सहभागी पत्रकारहरूले दोषी वकिलहरूलाई कारबाही गर्न माग गर्दै नारा जुलुससहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी पत्रकारहरूले “पत्रकारमाथि आक्रमण बन्द गर”, “दोषीलाई कारबाही गर”, “प्रेस स्वतन्त्रता खोस्न पाइँदैन” जस्ता नारा लगाउँदै विरोध जनाएका थिए।
महासंघ धनुषा शाखाका अध्यक्षले पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै तत्काल दोषी पहिचान गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरे। उनले भने, “पत्रकारहरू जनताको आवाज उठाउने माध्यम हुन्। तिनै आवाज दबाउने गरी आक्रमण गर्नु लोकतन्त्रविरुद्धको कार्य हो।”
घटनाबारे विस्तृत छानबिन गरिनुपर्ने माग गर्दै महासंघले प्रशासनलाई ज्ञापनपत्र समेत बुझाएको छ। महासंघका पदाधिकारीहरूले दोषी वकिलहरूलाई कानुनी दायरामा ल्याएर पत्रकारहरूको सुरक्षामा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।
धर्नामा धनुषा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।