सर्लाही । सशस्त्र प्रहरी बलले सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि एसएसपीलाई अनुगमनमा खटाएको छ । तर तस्करी भने नियन्त्रण होइन, झन् वृद्धि भइरहेको छ । सर्लाहीको छतौनास्थित छनकी नाकाबाट तस्करी सुरु भएको छ ।
अनलाइन नेपालले छनकी नाकाबाट सशस्त्र प्रहरीको सेटिङमा युनिलिभरका उत्पादन भारत तस्करी हुने गरेको समाचार प्रकाशित गरेपछि केही दिन रोकिएको तस्करी बुधबारबाट फेरि सुरु भएको छ ।
स्रोतका अनुसार बुधबार राति भन्सारछलीका युनिलिभरका सामान एक गाडी भारततर्फ लगिएको छ । यसैगरी, युनिलिभरका उत्पादनमात्र होइन, कपडा, किराना सामान, भाँडाकुँडा, कफी लगायतका सामान भारतबाट तस्करीका माध्यमबाट भित्रने गरेका छन् ।
नेपालबाट इलेक्ट्रिक सिगरेट (भेप) र मदिरा भारततर्फ तस्करी हुने गरेको छ । चीनबाट तस्करी भएको भेप पछिल्ला दिनमा छतौना हुँदै भारत तस्करी हुने गरेको छ ।
छतौनाबाट लक्ष्मी साहले तस्करी गरेका भाँडाकुँडा, कफी र कपडा रौतहटतर्फ लाने गरेका छन् । उनले बलरा प्रहरी चौकी अगाडि पिकअप लोड गरेर कपडा र कफी रौतहटतर्फ लाने गरेका छन् । रामेश्वर महतोले पनि कपडा तस्करी गर्दैआएका छन् ।
बुधु यादवले भारतबाट कपडा ल्याउने गरेका छन् भने नेपालबाट चाइनिज भेप भारततर्फ तस्करी गर्ने गरेका छन् । बिकु सिंह, बिकी सिंह, शम्भु साहले भारततर्फ मदिरा तस्करी गर्ने गरेको स्रोत बताउँछ ।
किराना सामानको तस्करी चुन्नु झा, सिकेन्दर साह, दिनेश महतो, रोशन साह, मनोज साहले गर्दैआएका छन् । छिन्नमस्ता बाहिनी बर्दिबासका डीआईजी कृष्ण ढकालकै संरक्षणमा छतौना बीओपीका इन्चार्ज इन्स्पेक्टर महेश न्यौपानेले तस्करीको लाइन दिएको आरोप लागे पनि छानविन हुन सकेको छैन ।
रौतहटमा करिब ७ सय बोरा तस्करीको चिनी बरामदपछि लुकाएको आरोपमा सशस्त्र मुख्यालय तानिएका सहायक हवल्दार रोशन मिश्र र एक मिडियाकर्मी समेतको सेटिङमा छतौनाबाट खुलेआम तस्करी हुने गरेको छ ।
छतौना बीओपी अन्तर्गत भारतीय सीमा जोडिएको बलरा नगरपालिका–३ मा युनिलिभरको एजेन्सी राखिएको छ । सीमामै लगेर युनिलिभरले एजेन्सी राखी सबै सामान भन्सारछली गरी भारततर्फ पठाउने गरिएको आरोप छ ।
युनिलिभरको एजेन्सीका म्यानेजर कन्हैया झा र कर्मचारी केशव झा रहेका छन् । नेपालबाट उनीहरुले हरेक रात पिकअपमा युनिलिभरका सामान सीमा काटाउने र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) मिलाउने काम संजय सिंहले गर्दैआएका छन् ।छतौनाबाट सशस्त्रकै सेटिङमा राति राति तस्करी गरेको भिडियो समेत अनलाइन नेपालसँग सुरक्षित छ । अनलाइन नेपालबाट


