Sunday, February 1, 2026

महोत्तरीको सम्सी सहिद चाैकमा सशस्त्र प्रहरी विट अभावले ड्युटीमा समस्या:-

ताजा / भरखरै प्राप्त

नरेन्द्र महताे- महाेत्तरी

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका अन्तर्गत पर्ने सम्सी सहिद चाैकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त रूपमा ड्युटी हुँदै आएको छ। उक्त चेकपोइन्टमा बिहान करिब ५–६ बजेदेखि राति १०–११ बजेसम्म सुरक्षाकर्मीहरू ड्युटीमा तैनाथ रहने गरेका छन्।
स्थानीय स्रोतका अनुसार नेपाल प्रहरीले आफ्नै विट (पोस्ट) भित्र तथा बाहिर बसेर ड्युटी गरिरहेको देखिन्छ। तर सशस्त्र प्रहरीका लागि भने छुट्टै विटको व्यवस्था नहुँदा उनीहरू खुला सडकमा उभिएर ड्युटी गर्न बाध्य छन्। यसले सशस्त्र प्रहरीलाई दैनिक सुरक्षाकर्ममा असहज स्थिति सिर्जना गरिरहेको छ।

सशस्त्र प्रहरी स्रोतले जानकारी दिएअनुसार उक्त स्थानमा पहिलेदेखि नै विट हुनुपर्ने भए पनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन। केही समयअघि भएको जिन–जी (Jin-Ji) आन्दोलनका क्रममा सशस्त्र प्रहरीको विटमा आगजनी गरी नष्ट गरिएको थियो। त्यसयता हालसम्म नयाँ विट निर्माण नहुँदा सशस्त्र प्रहरीलाई अत्यन्त कठिनाइका साथ ड्युटी गर्नुपरेको उनीहरूको गुनासो छ।
खुला स्थानमा लामो समयसम्म उभिएर ड्युटी गर्नुपर्दा घाम, पानी र चिसोको प्रत्यक्ष असर झेल्नुपरेको सुरक्षाकर्मीहरूको भनाइ छ। यसले सुरक्षाकर्मीको स्वास्थ्य र कार्यक्षमतामा समेत असर पार्न सक्ने स्थानीयवासीहरूको चिन्ता छ।

सम्सी सहिद चाैक जस्तो संवेदनशील र व्यस्त स्थानमा सशस्त्र प्रहरीको स्थायी विट नहुनु सुरक्षा व्यवस्थापनको दृष्टिले पनि चुनौतीपूर्ण देखिएको छ। त्यसैले सम्बन्धित निकायले यथाशीघ्र सशस्त्र प्रहरीका लागि उचित विट निर्माण गरी आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने माग स्थानीय स्तरबाट उठ्न थालेको छ।
सम्बन्धित निकायको यस विषयमा शीघ्र ध्यानाकर्षण होस् भन्ने स्थानीयवासी तथा सुरक्षाकर्मीहरूको अपेक्षा रहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles