

सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वाटर कपिलवस्तुको १९ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ कपिलवस्तु नगरपालिका–६ बर्मेलीटोलमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति दिपेन्द्र कुँवरले केक काटेर तथा परेवा उडाएर स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्नुभयो।
सो अवसरमा प्रमुख अतिथि कुँवरले सशस्त्र प्रहरी बल नेपालले मुलुकको सुरक्षा, सीमा सुरक्षासँगै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले शान्ति सुरक्षाको प्रत्याभूति, अमनचयन कायम राख्न तथा सशस्त्र प्रहरी बलका सम्पूर्ण साधनस्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यका साथ संगठन क्रियाशील रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रका बासिन्दालाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन, शैक्षिक सामग्री वितरण तथा सिपमूलक तालिमहरू प्रदान गर्दै सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको मन र मस्तिष्क जित्ने अभियानमा निरन्तर लागिरहेको जानकारी दिनुभयो।
स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, खेलकुद प्रतियोगिता लगायत विभिन्न सामाजिक तथा रचनात्मक गतिविधिहरू समेत सञ्चालन गरिएको थियो। कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।


