संखुवासभाको पाँचखपनस्थित बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका–७, बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) धनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।
उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार सन्तोष राई घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र उपचार हुन नसकेपछि थप उपचारका लागि संखुवासभा जिल्ला अस्पताल ल्याइएको छ ।
मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको भन्ने खबरपछि प्रहरी टोली खटिएको थियो । त्यसक्रममा उनीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।
पक्राउ परेको तीनै जनालाई ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।घटनामा संलग्नलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ बमोजिम अनुसन्धान गरेर कारबाही प्रक्रियाअघि बढाउने प्रहरीको तयारी छ ।


