रौतहट जिल्लाको सशस्त्र प्रहरी बल, नेपालले भारत–नेपाल सीमा क्षेत्रमा सक्रिय चेकजाँचको क्रममा नक्कली जस्तो देखिने भारतीय रुपैयाँसहित भारतिय नागरिक राकेश र बिक्रम पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले सीमा सुरक्षा गुल्म, हेडक्वाटर गौरबाट खटिएको टोलीले जिल्लाको गौर नगरपालिका–२, महादेवपट्टीस्थित सीमामा इलाकाबाट भा.रु. २,५०० बराबरका नक्कली जस्तो देखिने नोटसहित दुई जनालाई सशस्त्र प्रहरी राैतहटले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी राैतहटले जानकारी दिएको छ ।

यो घटना मिति २०८२ साल माघ १३ गतेको हो, सशस्त्र प्रहरीले जनाएको हो । भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको BR 30AF 5731 नम्बरको मोटरसाइकललाई नियमित चेकजाँचका क्रममा रोकेर तलासी लिँदा उक्त रकम फेला परेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा भारतको बिहार राज्य, सितामढी जिल्ला अन्तर्गत पर्सौनी बस्ने अन्दाजी ४२ वर्षीय राकेश कुमार साह र सोही जिल्लाको सिभवर परिषद–४ बस्ने अन्दाजी ३० वर्षीय विक्रम कुमार पासवान रहेका छन्। उनीहरू भारतबाट नेपालतर्फ आउँदै गर्दा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलको चेकपोइन्ट टोलीले शंका लागी चेकजाँच गरेको थियो, सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट भारतीय रुपैयाँ ५ सय दरका १ थान र २ सय दरका १० थान गरी जम्मा भा.रु. २,५०० नक्कली नोट बरामद गरिएको हो, प्रारम्भिक परीक्षणमा ती नोटहरू सक्कलीभन्दा फरक देखिएपछि थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरी राैतहटले जनाएको छ ।
नक्कली जस्तो देखिने नोटका अतिरिक्त उनीहरूको साथबाट सक्कली भारतीय रुपैयाँ १७७, प्रयोगमा रहेको मोटरसाइकल र दुई थान एन्ड्रोइड मोबाइल फोनसमेत बरामद गरिएको छ। बरामद गरिएका सम्पूर्ण सामग्रीहरू नियन्त्रणमा लिई दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, गौरका अनुसार पछिल्लो समय सीमा क्षेत्रमा शंकास्पद गतिविधिहरू बढ्दै गएकाले पैदल यात्री, मोटरसाइकल तथा सवारीसाधनहरूमा विशेष ध्यान दिइँदै आएको छाैं। “हामीले सूचनाको आधारमा मात्र होइन, नियमित चेकजाँचकै क्रममा पनि यस्ता गतिविधि पत्ता लगाइरहेका छौं,” एक सुरक्षा अधिकारीले बताएका छन् ।
नक्कली नोटको प्रयोगले आर्थिक प्रणालीमा गम्भीर असर पार्ने भएकाले यसलाई राज्यविरुद्धको अपराधका रूपमा लिइने गरिन्छ। यस्ता नोट बजारमा फैलिन सफल भएमा सर्वसाधारण ठगीमा पर्नुका साथै आर्थिक अस्थिरता सिर्जना हुन सक्ने अर्थविद्हरूको भनाइ छ। त्यसैले सीमा नाकामा कडाइ हुनु अत्यन्त आवश्यक रहेको उनीहरूको जोड छ।
स्थानीयवासीहरूले पनि सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूको सक्रियताले अवैध गतिविधि नियन्त्रणमा सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। “पहिले जाँच कम हुन्थ्यो, अहिले भने नियमित चेकजाँच हुन थालेको छ। यसले नक्कली नोट, तस्करी र अन्य अपराध नियन्त्रणमा मद्दत पुर्याएको छ,” एक स्थानीयले बताए।
यस घटनापछि जिल्ला प्रहरी कार्यालय, रौतहटले बरामद नोटहरू नक्कली हो वा होइन भन्ने विषयमा थप प्राविधिक परीक्षणका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरेको जनाएको छ। साथै नियन्त्रणमा लिइएका दुवै व्यक्तिको विगत गतिविधि, नेपाल प्रवेशको उद्देश्य र सम्भावित नेटवर्कबारे समेत अनुसन्धान अघि बढाइएको छ।
सुरक्षा निकायका अनुसार सीमा क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सम्बन्धित निकायबीच समन्वय बढाइएको छ। संयुक्त गस्ती, सूचनाको आदानप्रदान र प्रविधिको प्रयोगमार्फत नक्कली मुद्रा नियन्त्रणमा प्रभावकारी कदम चालिने बताइएको छ।
सशस्त्र प्रहरी बल, नेपालले सर्वसाधारणलाई पनि नक्कली नोटको पहिचानबारे सचेत रहन र शंकास्पद गतिविधि देखेमा तुरुन्त नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ। खुला सीमा भएकै कारण अपराधीहरूले मौका खोज्ने भएकाले आम नागरिकको सतर्कता पनि उत्तिकै आवश्यक रहेको सुरक्षा निकायको निष्कर्ष छ ।


